‘२–३ जना श्रीमती भएका मेयरका कार्यक्रमपिच्छे फरक–फरक फस्ट लेडी’ भन्दै स्टाटस लेखेका शिक्षकको दुर्गममा सरुवा

इटहरी– सुनसरीको वराहक्षेत्र नगरपालिका–८ स्थित कोशी माध्यमिक विद्यालयका शिक्षक बालकृष्ण बोहोराले फेसबुकमा ‘२–३ वटी श्रीमती बिहे गरेका मेयर र वडाअध्यक्षका कार्यक्रमपिच्छे फरक–फरक फस्ट लेडी’ भन्दै स्टाटस लेखेपछि उनलाई दुर्गम क्षेत्रमा सरुवा गरिएको छ।

यस निर्णयपछि विद्यार्थी र अभिभावकहरू आन्दोलित भएका छन्। आइतबार विद्यालय परिसरमा विद्यार्थीहरूले नाराबाजी गर्दै शिक्षकको सरुवा फिर्ता गर्न माग गरे। उनीहरूले प्लेकार्ड बोकेर प्रदर्शन गरे। अभिभावकहरूले पनि ज्ञापनपत्र बुझाएर सरुवा बदर गरी शिक्षकलाई नियमित काम गर्न वातावरण तयार गर्न आग्रह गरे।

शिक्षक बोहोराका अनुसार, फेसबुक स्टाटसमा कसैको नाम नलिई टिप्पणी गरिएको थियो। तर नगर प्रमुख रमेश कार्कीले उनलाई इलाका प्रहरी कार्यालयमा बोलाएर स्टाटस डिलेट गर्न लगाएका थिए। बोहोराले भने, ‘मेरो स्टाटसले कसैको मानमर्दन गरेको भए, म साइबर क्राइमको मुद्दा खेप्न तयार थिएँ। तर मेयरले प्रहरी सामुन्ने गाली गलौज गर्दै त्यसलाई डिलिट गर्न लगाए।’

नगर प्रमुखको धम्कीपछि शिक्षा समितिले उनलाई सूर्यकुण्डमा पर्ने दुर्गम क्षेत्रमा सरुवा गरेको बोहोराले दाबी गरे। विद्यालयका पूर्व शिक्षक रत्न राउतका अनुसार, शिक्षक बोहोरालाई यसअघि पनि पटक–पटक सरुवा गर्ने प्रयास भएको थियो। प्रधानाध्यापक बालकृष्ण अधिकारी आफैँ शिक्षा समितिका सदस्य भएकाले सरुवा सिफारिसमा प्रत्यक्ष संलग्न रहेको आरोप लगाइएको छ।

यसअघि शिक्षक बोहोराले सहायक प्रधानाध्यापक पदका लागि आवेदन दिएका थिए। तर शिक्षा समितिले नियमविपरीत दरपीठ गरी उनीभन्दा कनिष्ठ शिक्षकलाई सहायक प्रधानाध्यापक नियुक्त गरेको थियो। त्यसपछिका असन्तुष्टि र विवादका कारण विद्यालय व्यवस्थापन समिति र शिक्षा समितिसँग उनका सम्बन्ध चिसिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट