उदयपुरको विशाल होमसहित देशभरका ११ ठेकेदार कम्पनी दण्डित, १ देखि २ वर्ष कालो सूचिमा

राजविराज– प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले उदयपुरको उदयपुरगढी गाउँपालिका– ७ को विशाल होम निर्माण सेवालाई कालोसूचिमा राखेको छ। होमबहादुर वस्नेत प्रोप्राईटर रहेको यो निर्माण कम्पनीलाई पूर्वाधार विकास कार्यालय ओखलढुङ्गाको सिफारिसमा एक वर्षका लागि कालोसूचिमा राखिएको हो।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै विशाल होमसहित विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ११ निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको छ।
जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ। एकदेखि दुई वर्षको लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।
सुन्दर श्रेष्ठ मुख्य व्यक्ति रहेको जलेश्वरी महादेव यासवि कन्स्ट्रक्सन बूढानीलकण्ठ काठमाडौँ, मयंक शाह मुख्य व्यक्ति रहेको सगुन फेब्रिक्स प्राइभेट लिमिटेड मोरङ कालोसूचीमा परेका छन्। त्यसैगरि रामबहादुर बुढा मुख्य व्यक्ति रहेको शुभ आरएस बिल्डर्स सप्लायर्स बाँके, छत्रबहादुर बुढा मुख्य व्यक्ति रहेको नविन निर्माण सेवा अछाम, मिथुन चन्द मुख्य व्यक्ति रहेको जेएमसी कन्स्ट्रक्सन प्रालि सुर्खेत र माधव घिमिरे मुख्य व्यक्ति रहेको काश्यप निर्माण सेवा एण्ड सप्लायर्स काठमाडौँ पनि कालोसूचीमा परेका छन्।
कृष्णकुमार राई मुख्य व्यक्ति रहेको ग्यालेक्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स कम्पनी प्रालि काठमाडौँ, सीताराम श्रेष्ठ मुख्य व्यक्ति रहेको जालपा निर्माण सेवा एण्ड सप्लायर्स काठमाडौँ, कर्णबहादुर बुढा मुख्य व्यक्ति रहेको मष्टा भवानी निर्माण सेवा डोल्पा र सहिदिन मियाँ मुख्य व्यक्ति रहेको शहीद निर्माण सेवा अर्घाखाँची पनि कालो सूचीमा परेका छन्।
त्यसैगरि काश्यप निर्माण सेवा एण्ड सप्लायर्स दुई वर्षका लागि, मष्टा भवानी निर्माण सेवा डेढ वर्षका लागि कालोसूचीमा परेका छन्।