वीरगञ्जमा हैजाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, ९३ जनामा संक्रमण पुष्टि

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरलाई हैजाले नराम्रोसँग ग्रस्त बनाएको छ। सोमबार साँझसम्म हैजाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ भने ९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साले जानकारी दिएको छ।
केन्द्र, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले रोकथाम र नियन्त्रणका लागि सक्रिय पहल गरिरहे पनि संक्रमणको दर घट्न सकेको छैन। जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत छन् भने १७८ जना उपचारपछि घर फर्किएका छन्। अहिलेसम्म अस्पताल पुगेका झाडापखाला र हैजाका बिरामी ३४४ पुगेका छन्।
नारायणी अस्पतालमा आरडिटी परीक्षण गर्दा ३२ जनामा कलेरा संक्रमण पुष्टि भएको छ। त्यसैगरी तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पताल, वीरगञ्ज हेल्थ केयर र मङ्गलम प्याथोलोजीमा तीन–तीन जना, अर्ली अर्थो अस्पतालमा दुई जना संक्रमित भेटिएका छन्।
त्यस्तै नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल र सर्वोत्तम अस्पतालमा हाल एक–एक जना संक्रमित उपचाररत छन्।
अहिलेसम्मको विवरणअनुसार २७ जना आईसीयूमा, ६ जना एचडीसीयूमा र १२२ जना जनरल वार्डमा उपचाररत छन्। बाँकी बिरामी सामान्य उपचारपछि घर फर्किएका छन्।
स्वास्थ्यकर्मीहरूका अनुसार संक्रमण रोक्नका लागि सरसफाइ, सुरक्षित खानेपानी र सचेतनामूलक अभियान तत्काल आवश्यक देखिएको छ। तर हालको तथ्यांकले वीरगञ्जमा सार्वजनिक स्वास्थ्य संकटकालजस्तै अवस्था सिर्जना गरेको संकेत देखिएको छ।