भोजपुरमा एकै परिवारका चार जनाको हत्या, घाईते ज्वाईँ प्रहरीको निगरानीमा

विराटनगर — भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा गएराति एकै घर परिवारका चार जनाको निर्मम हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी युवराज तिमिल्सिनाका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको हत्या भएको हो।

प्रहरी प्रारम्भिक अनुसन्धानका अनुसार बेल बहादुर गिरीका ज्वाइँ राजेन्द्र राईले आफ्नै ससुरा, सासू, श्रीमती र सालोलाई हत्या गरेका हुन सक्ने देखिएको छ। घटनास्थलमा गम्भीर घाइते अवस्थामा भेटिएका राईले आफैंले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ।

गए राति करिब १ बजेतिर प्रहरीलाई घटनाबारे जानकारी प्राप्त भएपछि तत्काल टोली परिचालन गरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिएको थियो।

घाइते राईलाई जिल्ला अस्पताल भोजपुरमा उपचारका लागि भर्ना गरिएको छ। घटनाको प्रकृति, हत्याको कारण र प्रयोग भएको हतियारबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थललाई सिल गरी आवश्यक प्रमाण संकलन गरिरहेको छ भने थप अनुसन्धान जारी रहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट