सप्तरीमा सिटी सफारीको ठक्करले एक पैदलयात्रीको मृत्यु

राजविराज– सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही बिरपुरमा सिटी सफारीको ठक्करबाट एक जना पैदलयात्रीको ज्यान गएको छ।
राजविराजबाट लोखरमतर्फ गइरहेको स १ ह ९०९ नम्बरको सिटी सफारीले शुक्रबार राति विष्णुपुर गाउँपालिका–४ कनकट्टाका ४० वर्षीय कुशेश्वर मरिकलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका मरिकलाई राति नै गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज ल्याइएको थियो। चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनापछि सवारी चालक फरार रहेका रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। मृतकका परिवारले शनिबार सिटी सफारी चालकविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका छन्। उनीहरूले चालकले राति लाइट नै नबाली सवारी चलाएको र दुर्घटनापछि प्रहरीले चालकलाई भगाउन सघाएको आरोपसमेत लगाएका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्रकुमार बस्नेतले सिटी चालकको खोजी भईरहेको बताए।