भारतीय अभिनेत्री शेफाली जरीवालाको मृत्युः बुढ्यौली रोक्ने औषधी र सुईका कारण भएको आशंका

राजधानी– भारतीय अभिनेत्री शेफाली जरीवालाको ४२ वर्षको उमेरमा शुक्रबार राति अचानक मृत्यु भयो। प्रारम्भिक अनुसन्धानका क्रममा उनले लामो समयदेखि बुढ्यौली रोक्ने औषधी र सुई प्रयोग गरिरहेकी थिइन् भन्ने तथ्य सार्वजनिक भएको छ।
जुन २७ तारिख दिउँसो शेफालीले घरमै एउटा सुई लिएको प्रहरी अनुसन्धानले देखाएको छ। प्रहरी अधिकारीका अनुसार सम्भवतः त्यो सुई बुढ्यौली रोक्ने (एन्टिएजिङ) औषधीसँग सम्बन्धित थियो। सुई लगाएपछि उनको रक्तचाप निकै छिटो घट्यो र उनी काम्न थालिन्। त्यसपछि परिवारले उनलाई तुरुन्त मुम्बईको अन्धेरीस्थित बेलभ्यू मल्टिस्पेशियालटी अस्पताल पु¥याए। तर डाक्टरहरूले उनलाई मृत घोषणा गरे।
राति एक बजे प्रहरीलाई जानकारी दिइएपछि शवलाई पोस्टमार्टमका लागि कूपर अस्पताल पठाइएको थियो। प्रहरीका अनुसार शेफालीले नियमित रूपमा एन्टिएजिङ ट्याब्लेट र अन्य औषधी सेवन गरिरहेकी थिइन्। सम्भवतः खाली पेटमा औषधी लिएको र सुईको असरले उनको स्वास्थ्य गम्भीर रूपमा बिग्रेको हुन सक्छ। अहिले उनका श्रीमान्, परिवारका सदस्य र घरमा काम गर्ने कर्मचारीसहित १० जनाको बयान लिइसकिएको छ।
हालसम्म घटनामा कुनै आपराधिक आशंका पुष्टि भएको छैन। तर अनुसन्धानका लागि प्रहरीले घरबाट औषधीका नमुना, सुई र अन्य सामग्री संकलन गरेको छ। शेफालीको मृत्यु सार्वजनिक भएसँगै बुढ्यौली रोक्ने औषधी र कस्मेटिक उपचारका सम्भावित खतराबारे भारतमा बहस सुरु भएको छ।
छाला रोग विशेषज्ञ डा. ऋषि पराशरका अनुसार एन्टिएजिङ औषधी प्रायः सुरक्षित मानिए पनि सही विधि, मात्राका साथै योग्य विशेषज्ञको निगरानी नभए गम्भीर समस्या निम्त्याउन सक्छन्। सन् २०२४ मा अमेरिकामा यस्ता सुईले केही महिलामा विषाक्त असर देखिएको र अस्पताल भर्ना गराउनुपरेको उदाहरण पनि सार्वजनिक भएको थियो।
यद्यपी, शेफाली जरीवालाले साँच्चै कुनै विशेष बुढ्यौली रोक्ने औषधी प्रयोग थिइन् कि थिएनन् भन्ने कुरा पोस्टमार्टम रिपोर्ट र फरेन्सिक परीक्षणपछि मात्रै यकिन हुनेछ। प्रहरीले अनुसन्धानलाई प्राथमिकता दिएको र परिवारसँग थप जानकारी लिइरहेको जनाएको छ।
१५ डिसेम्बर १९८२ मा अहमदाबादमा जन्मिएकी शेफाली सन् २००२ मा सार्वजनिक भएको लोकप्रिय हिन्दी गीत ‘काँटा लगा’ मा अभिनय तथा नृत्य गरेर चर्चामा आएकी थिइन्। त्यसपछि उनी बिग बोस १३ जस्ता रियालिटी शोहरूमा पनि सहभागी भइन्। उनले विभिन्न म्युजिक भिडिओ, रियालिटी कार्यक्रम, वेब सिरिज र केही फिल्महरूमा समेत अभिनय गरेकी थिइन्।