अभद्र ब्यवहारका महारथीः यसअघि नै दर्ता थिए ७ वटा मुद्दा

राजविराज– सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई टेलिफोनमै गालीगलौज गरेपछि पक्राउ पुर्जी जारी भएका जसपा मधेश प्रदेशका अध्यक्ष अशोक यादव अभद्र व्यवहारमा महारथ हाँसिल गर्ने लाईनमा रहेको खुलेको छ। उनीविरुद्ध यसअघि पनि ५ वटा अभद्र ब्यवहारसहित ७ वटा कसुरमा मुद्दा चलेको पाइएको छ ।
एसपी खड्कालाई टेलिफोन कुराकानीमा अश्लिल शब्द प्रयोग गदै ‘मधेशमा लुट्न आएको’ भन्दै गालीगलौज गरेपछि यादवविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो। यादवले यसअघि नै ५ पटक अभद्र व्यवहार सम्बन्धी मुद्दा खेपेको प्रहरी स्रोतले जानकारी दिएको छ।
यस्तै, यादवविरुद्ध प्रहरीले यसअघि ज्यान मार्ने उद्योगसहित चोरी मुद्दाको कसुरमा समेत मुद्दा चलाइएको थियो। शुक्रबार पक्राउ पूर्जी जारी भएपछि उनी फरार छन्। उनी अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष हुन।
यस्तो छ पराना मुद्दाको श्रृंखला
अशोक यादव विवादास्पद छवि भएका राजनीतिक व्यक्ति हुन्। २०७७ जेठ २७ मा सर्लाहीको चक्रघट्टा गाउँपालिका–७ मा सडकको जग्गा विवाद हुँदा उनले स्थानीय राजनारायण रायमाथि निर्घात कुटपिट गरेका थिए। सो घटनामा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता भएको थियो।
त्यसअघि २०७३ कात्तिक २९ मा सलेमपुर गाविसमा डिउटीमा खटिएको प्रहरी टोलीलाई गालीगलौज गरी हातपात गर्न खोजेको अभियोग लाग्यो।
२०७३ साउन १३ मा मलंगवा नगरपालिका–४ स्थित सिंचाइ विकास डिभिजन कार्यालयमा अनधिकृत प्रवेश गरी कर्मचारीलाई गालीगलौज र धम्की दिएका थिए। आफुलाई ‘लात, जुत्ताले हान्छु’ भन्दै धम्की दिएको भन्दै कार्यालयका प्रमुख मनोरञ्जन कुमार सिंहले जाहेरी दिएका थिए।
२०७२ पुस ५ मा सर्लाही प्रशासन कार्यालयको नागरिकता तथा राहदानी फाँटमा कम्प्युटर, प्रिन्टर र मोनिटर तोडफोड गरी सरकारी सम्पत्तिमा क्षति पु¥याएको अभियोगमा मुद्दा चलेको थियो।
२०७२ फागुनमा उनले मादक पदार्थ सेवन गरी डिउटीमा खटिएका प्रहरीलाई गालीगलौज गरेका थिए।
त्यस्तै, २०६६ असोज १० मा जिल्ला शिक्षा कार्यालयका लेखापाल शिवशंकर महतोबाट डेढ लाख रुपैयाँ नगद लुटपाट गरेको आरोपमा चोरी मुद्दा दर्ता भएको थियो। घटनामा लेखापालको मोटरसाइकल समेत तोडफोड भएको प्रहरी अभिलेखमा उल्लेख छ।
२०५७ पुस ८ मा मलंगवाको जिल्ला कृषि विकास कार्यालयमा नथुनी साहलाई गालीगलौज गरेको अभियोगमा पनि मुद्दा चलेको थियो।
यति धेरै मुद्दा दर्ता हुँदा यादव पटक–पटक राजनीतिक संरक्षणको आडमा कानुनी कारबाहीबाट उम्किँदै आएका थिए। तर पछिल्लो घटनाले उनीमाथि निगरानी कडा पारिएको प्रहरीले छ।