बैतडीमा जीप दुर्घटना: दुई जनाको मृत्यु, ६ जना घाइते

राजधानी– बैतडीमा भएको एक जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन्। दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा शनिबार बिहान ६ बजे सुपप्र ०१–००१ज १३७२ नम्बरको जीप दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका डिलासैनी गाउँपालिका–१ नगराउ निवासी २४ वर्षीय जीप चालक सन्तोशबहादुर राना र सोही स्थानका ३२ वर्षीय किरण चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए।

गम्भीर घाइते दुवै जनालाई उद्दार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो, तर उपचारका क्रममा दुवैको ज्यान गएको हो।

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। घाइते हुनेमा डिलासैनी गाउँपालिका–१ का ४२ वर्षीय रामबहादुर राना, ५१ वर्षीया कमला धामी, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, २ वर्षीया एलिसा खत्री र २५ वर्षीय हेमन्त प्रसाद भट्ट रहेका छन्।

डीएसपी जोराका अनुसार गम्भीर घाइते कमला धामी र राजेन्द्र खत्रीलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

दुर्घटनामा जीप सडकबाट करिब ७० मिटर तल खसेको थियो भने दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट