धनुषामा एक शिक्षिकाले कक्षा कोठामै आत्महत्या गरेपछि खुल्यो मिटरब्याजको भयावह चक्र

ढल्केबर (धनुषा)— मिटरब्याजको चपेटामा परेकी एक शिक्षिकाले कक्षा कोठामै आत्महत्या गरेपछि धनुषा जिल्लामा मिटरब्याजको पुरानो घाउ फेरि बल्झिएर आएको छ। तर, यो पीडादायक घटना सार्वजनिक हुन समेत ५ दिन लाग्यो। प्रहरीले ४ दिनसम्म यो घट्नालाई लुकाएर राखेको रहस्योद्घाटन ‘शीर्ष खबर’ले गरेको थियो।
साउन १ गते बिहान मिथिला नगरपालिका–८, जमुनिवासस्थित श्री जनता राष्ट्रिय आधारभूत विद्यालयमा कार्यरत शिक्षिका ३४ वर्षीया विमला मोक्तान ध्रोञ्चिङ (तामाङ) झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। घटनास्थलमै प्रहरीले उनको ज ११ प ७४९२ नम्बरको स्कुटीको डिक्कीमा सुसाईड नोट फेला पारेको थियो। तर, ४ दिनसम्म यो घट्नालाई दबाईयो।
विद्यालयमा सधैं योग गर्न जाने स्थानीयले साउन १ गते बिहानै शव देखेपछि इलाका प्रहरी कार्यालय ढल्केबरलाई खबर गरेका थिए। तर, प्रहरी प्रशासनले ५ गतेसम्म न प्रेस विज्ञप्ति जारी गर्यो, न कुनै सञ्चार माध्यमलाई जानकारी दियो।
धनुषाका डीएसपी वरुणबहादुर सिंहले सुरुवाती चरणमा यस विषयमा बोल्न समेत मानेनन्। ‘सेन्सेटिभ मुद्दा’ भन्दै उनले घटना सार्वजनिक नहुन्जेल घट्ना अनुशन्धानका क्रममा पक्राउ परेका राजकिशोर यादवको नामसमेत बाहिर ल्याएनन्। शीर्ष खबरले घटना सार्वजनिक गरेपछि मात्रै प्रहरीले विज्ञप्ति निकाल्यो र यादवको गिरफ्तारी पुष्टि गर्यो।
धनुषाका प्रमुख सञ्चारमाध्यमसमेतले चार दिनसम्म घटनाको बारेमा समाचार नलेख्नुले प्रहरीले यसलाई भित्रभित्रै कानुनी प्रकृया पुरा गर्ने तर, सार्वजनिक नगर्ने नियत राखेको जस्तो देखिएको थियो। तर, ‘शीर्ष खबर’को ब्रेकिङपछि घटना राष्ट्रिय मिडियामा समेत प्राथमिकताका साथ प्रकाशित हुन थालेको छ।
घट्ना विवरण अनुशार विमलाले आत्महत्या गर्नु पर्ने कारक जनकपुरधाम उपमहानगरपालिका–९ का ५५ वर्षीय मिटरब्याजी राजकिशोर यादव हुन। जसको नाम धनुषा जिल्लाभर मिटरब्याजसँग जोडिएको छ। प्रहरीले यादवको घरबाट ९ थान सक्कल कपाली तमसुक, २३ थान जग्गा धनी प्रमाणपत्र, बैंक भौचर, र विभिन्न नामका चेकहरू बरामद गरेको जनाएको छ।
विमलाको दुई पृष्ठको सुसाइड नोटमा उल्लेख भए अनुसार उनले राजकिशोर यादवबाट दुईपटक गरी ३ लाख १० हजार रुपैयाँ ऋण लिएकी थिइन्। त्यसको ब्याज र किस्ता गरी ४५ लाख रुपैयाँ तिरिसकेको जनाईएको छ। त्यस मध्ये १५ लाख रुपैयाँको बैक भौचर फेला परेको र अन्य रकम पटक पटक गरी नगदै दिएको स्थानीय समेतको दाकी छ।
तर, राजकिशोरले अझै ५० लाख रुपैयाँ तिर्न बाँकी रहेको भन्दै धम्की दिने, जेल पठाउने चेतावनी दिने, र बारम्बार गाली बेइज्जती गर्ने गरेको विवरण पनि उनले उल्लेख गरेकी छन्। अन्तिम पटक असार ३२ गते, यादव आफ्ना परिवारसहित स्कारपियो गाडीमा चढेर विमलाको घरमा पुगेर सार्वजनिकरूपमा गाली वेईजती गरेको कुरा पनि नोटमा लेखिएको छ।
विमलाकी सासू चन्दुमाया मगर र पारिवारिक सदस्यका अनुसार विमलाले यादवलाई ४५ लाखका पाँचवटा चेक दिएकी थिइन्, जसमा यादवले रकम आफैँ भरेर धम्की दिएको आशंका गरिएको छ। दुई पटक चेक बाउन्स भएपछि झनै मानसिक यातना बढेको बताइएको छ।
विमलाका श्रीमान् घनबहादुर ध्रोञ्चिङ वैदेशिक रोजगारीमा युएई (दुबई) गएका थिए। उनी घटना सुने लगत्तै घर फर्किएका छन्। उनका अनुसार विदेशबाट पठाएको सबै पैसा साहुको किस्तामा गइसकेको छ। ‘घरखर्चमा त खासै खर्च गरिन, उसैले त खाइरह्यो,’ उनले भने। विमलाका दुई सन्तानमध्ये जेठी छोरी करिब १५ वर्षकी छन् भने छोरा अटिजम पीडित छन्। अहिले दुवै बालबालिका हजुरआमाको संरक्षणमा छन्।
प्रहरीले आत्महत्या दुरुत्साहन अन्तर्गत यादवलाई पक्राउ गरिसकेको छ। तर कानुनविद्हरुका अनुसार यस्तो घटनामा आत्महत्या दुरुत्साहन मात्र नभई अनुचित लेनदेन ऐनअन्तर्गत छुट्टै मुद्दा दर्ता हुनुपर्छ। ‘पीडितको सुसाइड नोट मात्र आधार बनाएर दोषीलाई सजाय दिलाउन कठिन हुन्छ,’ अधिवक्ता रिंकु यादव भन्छिन्, ‘यसकारण प्रमाणसहित दुवै मुद्दा चलाइनुपर्छ।’
धनुषामा हाल १५ हजारभन्दा बढी मिटरब्याजसम्बन्धी उजुरीहरू छन्। तर त्यसको बीचमा पनि प्रहरी प्रशासनले घटना लुकाउनु र अनुसन्धानमा ढिलाइ गर्नुले राजनीतिक संरक्षणको आशंका पैदा भएको छ।
यो पनि,