सुनसरीमा जग्गा विवादका कारण छुरा प्रहार गरी बाबुको हत्या, छोरा पक्राउ

इटहरी– सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा घरायसी जग्गा विवादका कारण छोराले बाबुको हत्या गरेका छन्।
बुधबार बिहान ६० वर्षीय सचिव अन्सारीमाथि उनकै छोरा मोहम्मद रियाज अन्सारीले छुरा प्रहार गरी हत्या गरेका हुन। रियाजलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुनसरी प्रहरीका एसपी सुमनकुमार तिम्सिनाका अनुसार रियाजले बाबुलाई छाती र ढाडमा छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट गम्भीर घाइते भएका अन्सारीलाई तत्काल विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा जग्गा सम्बन्धी विवादका कारण हत्या भएको देखिए पनि घटनालाई प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।
एसपी तिम्सिनाले आरोपी रियाजविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइने जानकारी दिएका छन्।
स्थानीयका अनुसार मृतक सचिव अन्सारी गाउँमा शान्त स्वभावका व्यक्ति थिए। तर, परिवारभित्र लामो समयदेखि सम्पत्ति बाँडफाँटका विषयमा विवाद रहँदै आएको र त्यसैका कारण घटना भएको हुनसक्ने अनुमान गरिएको छ।