उदयपुरका युवकसँग पक्राउ परेका इटहरीका युवराजको प्रहरी हिरासतमै मृत्यु, प्रहरीले मारेको परिवारको आरोप

इटहरी— लागूऔषध सेवन गरेको आरोपमा पक्राउ परेका सुनसरीको इटहरी उपमहानगरपालिका–२ का २० वर्षीय युवराज निरौलाको इलाका प्रहरी कार्यालय धरानको हिरासतमा मृत्यु भएको छ। प्रहरी कुटपिटका कारण युवराजको मृत्यु भएको परिवारको दाबी छ।

उनीसहित उदयपुरको बेलका नगरपालिका–३ का २२ वर्षीय दीपक कटुवाललाई धरानको तीनकुने चेकपोष्टबाट शुक्रबार राति करीब ८ बजे प्रहरीले पक्राउ गरेको थियो। उनीहरू मोटरसाइकलमा इटहरी फर्किंदै गर्दा लागूऔषध सेवन गरेको अवस्थामा भेटिएको भन्दै प्रहरीले पक्राउ गरेको थियो।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगूका अनुसार जाँचका क्रममा तीन ट्याब्लेट प्रतिबन्धित औषधि बरामद भएको थियो। पक्राउपछि केही समयमै युवराजको स्वास्थ्य गम्भीर भएको भन्दै परिवारलाई खबर गरिएको थियो।

छिमेकी खगेन्द्र सुवेदीका अनुसार प्रहरीले ‘छोरा गम्भीर छन्, तुरुन्त बीपी प्रतिष्ठान आउनू’ भनेर जानकारी गराएको थियो। त्यहाँ उपचार सम्भवन नभएपछि बीपी प्रतिष्ठानले राति २ बजे विराट नर्सिङ होममा रिफर ग¥यो। त्यहाँबाट पनि विराट टिचिङ अस्पताल लगिएको थियो।

टिचिङमा चिकित्सकले टाउकोको भित्री भागमा रगत जमेको र संक्रमण फैलिएको भन्दै बचाउन नसकिने बताएपछि आइतबार बिहान कोशी अस्पताल लैजाँदै गर्दा युवराजको मृत्यु भएको थियो। मृतकको टाउकोलगायत शरीरका विभिन्न भागमा निलडाम देखिएको र प्रहरीको कुटपिटकै कारण निधन भएको आफन्तले दाबी गरेका छन्।

सोमबार इलाका प्रहरी कार्यालय धरानमा पुगेका पीडित परिवार र छिमेकीहरूले आक्रोश व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरे। उनीहरुले प्रहरीको भूमिका प्रति शंका व्यक्त गर्दै मृत्युलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन्।

उनीहरुले शव नउठाउने अडान लिएपछि डिएसपी जवेगूले घट्नाको अनुशन्धान गर्ने र प्रहरीको दोष देखिए कारवाही गर्ने बचन दिएका छन्। सिसीटिभी फुटेजमा प्रहरीको कुटपिट नदेखिएको र युवक भाग्ने क्रममा आफैं लडेर घाइते भएको देखिएको उनको दाबी छ। ‘यदि प्रहरीको गल्ती देखियो भने कारबाही गर्छु भनेर प्रतिबद्धता जनाएको छु,’ जवेगूले भने।

डिएसपीले कारबाहीको प्रतिबद्धता जनाएपछि आफन्त र छिमेकीहरु पोष्टमार्टम गरी शव लिएर फर्किएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट