रूसमा ७३ वर्षपछिको सवैभन्दा ठुलो प्रलयः सुदूरपूर्वी प्रायद्वीप कामचात्कामा ८.८ म्याग्निच्युडको भूकम्प

राजधानी — रूसको सुदूरपूर्वी प्रायद्वीपीय क्षेत्र कामचात्कामा बुधबार बिहान ८ बजेर २५ मिनेटमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (युएसजीएस) का अनुसार यो भूकम्प समुद्रको सतहभन्दा १८.२ किलोमिटर गहिराइमा केन्द्रित थियो र कामचात्काको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर टाढा परेको थियो।
यसलाई पछिल्ला सात दशकमा सो क्षेत्रमा गएको सबैभन्दा शक्तिशाली भूकम्पका रूपमा लिइएको छ। भूकम्पपछि रुस, जापान, अमेरिका, हवाई, चिली, सोलोमन आइल्याण्ड, फिजी, फिलिपिन्स, ताइवान, पेरू, इन्डोनेशिया, न्यूजील्याण्ड, पपुवा न्यू गिनी, भानुआतु, इक्वाडोर लगायतका प्रशान्त महासागर क्षेत्रका देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ। प्रशान्त सुनामी चेतावनी केन्द्रले एकदेखि तीन मिटर अग्लोसम्मको खतरनाक लहर उठ्न सक्ने चेतावनी दिएको छ।
रुसी अधिकारीहरूले कामचात्का प्रान्तमा तटीय क्षेत्र खाली गर्न निर्देशन दिएका छन्। गभर्नर भ्लादिमिर सोलोदोभले तटीय बासिन्दालाई उच्च पहाडी क्षेत्र वा सुरक्षित स्थानतर्फ जान आग्रह गरेका छन्। प्रारम्भिक रिपोर्ट अनुसार, स्थानीय एक किंडरगार्टन विद्यालयको भवनमा क्षति पुगेको छ तर मानवीय क्षति भएको छैन।
जापानको मौसम विज्ञान विभागले १ मिटरभन्दा अग्ला छाल आउन सक्ने पूर्वानुमानसहित जापानका पूर्वी तटीय क्षेत्रमा सतर्कता जारी गरेको छ। चिबा प्रान्तको कुजुकुरी समुद्र तट नजिक ५० सेन्टिमिटर अग्ला छाल देखिएका छन् भने तातेयामा सहरको समुद्र किनारमा थुप्रै व्हेल माछा बहेर आएका छन्। होक्काइडोमा स्थानीय बासिन्दा छतमा चढेर सुरक्षित स्थानमा आश्रय लिँदै गरेको दृश्य सार्वजनिक भएको छ।
जापानमा सन् २०११ मा आएको विनाशकारी भूकम्पपछि अत्यन्तै संवेदनशील बनेको फुकुशिमा न्यूक्लियर पावर प्लान्टलाई सुरक्षाका लागि खाली गराइएको छ। यसअघि त्यहाँ आएको सुनामीले संयन्त्रको कूलिङ सिस्टम ठप्प पारेर रेडियोधर्मी ग्यासको रिसाव गराएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया र हवाईमा सुनामीको खतरा उच्च रहेको भन्दै तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन निर्देशन दिएका छन्। हवाईका समुद्र तटहरूमा पर्यटक र स्थानीयबासीलाई सुरक्षित स्थानतर्फ जान भनिएको छ। यस क्षेत्रबाट ३ देखि १२ फिट अग्ला छाल आउन सक्ने चेतावनी दिइएको छ।
हवाईमा भारी ट्राफिक जामको स्थिति देखिएको छ भने समुद्र किनारबाट मानिसहरू फर्किरहेका छन्।
प्यासिफिक सुनामी वार्निङ सेन्टरका अनुसार अमेरिका समोआ, एण्टार्टिका, कोलम्बिया, कोस्टा रिका, अल सल्वाडोर, ग्वाटेमालासहित प्रशान्त महासागरका अन्य २५ भन्दा बढी मुलुकहरूमा पनि सुनामीको सम्भावना छ। इक्वाडोरमा तिन मिटरभन्दा अग्ला छाल आउन सक्ने भनिएको छ।
कामचात्कामा यसअघि नोभेम्बर १९५२ मा ९.० म्याग्निच्युडको भूकम्प गएको थियो। त्यतिबेला पनि ठूलो क्षति भएको थियो। हालको भूकम्पलाई सो पछिको सबैभन्दा शक्तिशाली कम्पनका रूपमा लिइएको छ। जुलाई महिनामै यस क्षेत्रमा पाँचवटा भूकम्प आइसकेका छन्।
भूकम्पपछि करिब ३० वटा पराकम्प देखिएको पुष्टि भएको छ। हालसम्म ठूलो मानवीय क्षतिको विवरण आएको छैन, तर तटीय क्षेत्रमा सम्भावित सुनामीबाट ठूलो क्षति हुन सक्ने आँकलन गरिएको छ।
रुसको कामचात्का प्रायद्वीपमा गएको यो शक्तिशाली भूकम्पले सम्पूर्ण प्रशान्त महासागर क्षेत्रलाई सचेत गराएको छ। यतिबेला तटीय क्षेत्रका लाखौं मानिस प्रभावित छन्। विश्वका भूगर्भविद् र आपतकालीन सेवाहरू यो आपतकालीन घटनालाई नजिकबाट अनुगमन गरिरहेका छन्। सतर्कता नै सुरक्षित उपाय भएकाले सबै प्रभावित देश र क्षेत्रका बासिन्दालाई आधिकारिक निर्देशन पालना गर्न आग्रह गरिएको छ।