अमेरिका र इजरायलको संयुक्त हमला पछि इरानको प्रतिकारः तेहरानमा बमवर्षा, खाडीमा आगो– विश्वमा फैलिँदै युद्धको ज्वाला
काठमाडौँ– अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा सुरु गरेको सैन्य कारबाही झन् उग्र बनेको छ र यसको प्रभाव मध्यपूर्वका विभिन्न देशहरू हुँदै विश्व राजनीतिसम्म फैलिन थालेको छ। शनिबार सुरु भएको तीव्र हवाई आक्रमणपछि इरानले पनि व्यापक प्रतिकार थालेपछि युद्ध केवल सीमित सैन्य कारबाहीमा सीमित नरही बहुपक्षीय टकरावमा रूपान्तरण हुँदै गएको संकेत देखिएको छ।
यसबीच अमेरिकी सैन्य अखडाहरूको हवाई सुरक्षा कमजोर देखिएको विषयले पेन्टागनभित्रै चिन्ता बढाएको बताइएको छ। अमेरिकी पत्रिका द वासिङटन पोष्टका अनुसार इरानसँगको युद्ध अपेक्षाभन्दा लामो तानिँदै जाँदा र अमेरिकी सैन्य शिविरहरूमा लगातार आक्रमण भइरहेपछि पेन्टागनका अधिकारीहरू गम्भीर रूपमा चिन्तित बनेका छन्।
प्रारम्भिक विवरणअनुसार युद्ध सुरु भएयता कम्तीमा चारदेखि छ अमेरिकी सैनिकले ज्यान गुमाइसकेका छन् भने अन्य सैनिकहरू घाइते भएका छन्। अमेरिकी सैन्य स्रोतहरूले इरानमाथि तीव्र हवाई कारबाही चलाइए पनि इरानलाई पूर्ण रूपमा आक्रमण गर्न असमर्थ बनाउने लक्ष्य हासिल हुन नसकेको स्वीकार गरेका छन्।
दुई दिनको सैन्य अभियानमा करिब दुई सय युद्धक विमान प्रयोग गरी इरानका विभिन्न सैन्य संरचना र मिसाइल प्रणाली लक्षित गर्दै व्यापक हमला गरिएको थियो। ती आक्रमणबाट इरानको सैन्य संरचनामा क्षति पुगेको दाबी गरिए पनि इरानले आफ्नो प्रतिकार क्षमता कायम राख्दै ड्रोन र मिसाइल प्रहारलाई अझ विस्तार गरेको छ।
अहिले अरब क्षेत्रदेखि युरोपतर्फ पर्ने साइप्रससम्म इरानले मिसाइल र ड्रोन आक्रमण जारी राखेको दाबी विभिन्न स्रोतहरूले गरेका छन्। युद्धको चौथो दिनमा इजरायलले इरानको राजधानी तेहरान र लेबनानको राजधानी बेरुतमा सैन्य लक्ष्य निर्धारण गरी नयाँ चरणको हवाई आक्रमण थालेको छ।
यससँगै खाडी क्षेत्रका विभिन्न अमेरिकी सैन्य अखडाहरू पनि लगातार हमलाको निशानामा परेको बताइएको छ, जसले युद्धको भौगोलिक दायरा तीव्र रूपमा फैलिएको संकेत दिएको छ। यसैबीच साउदी अरबको रक्षा मन्त्रालयले राजधानी रियाद स्थित अमेरिकी दूतावास परिसरमा दुईवटा ड्रोन प्रहार भएको पुष्टि गरेको छ।
उक्त आक्रमणपछि दूतावास परिसरका केही भागमा आगलागीसमेत भएको जनाइएको छ, जसले युद्धको असर प्रत्यक्ष रूपमा कूटनीतिक संरचनासम्म पुगेको देखाएको छ। उता इरानको सरकारी सञ्चारमाध्यमले भने बहराइनमा रहेको अमेरिकी हवाई बेसको कमान्ड तथा स्टाफ भवन ध्वस्त पारिएको दाबी गरेको छ, यद्यपि त्यसको स्वतन्त्र पुष्टि भने भएको छैन।
युद्ध चर्किँदै जाँदा विश्व ऊर्जा आपूर्तिको संवेदनशील केन्द्र मानिने स्ट्रेट अफ हर्मुज पनि तनावको केन्द्र बनेको छ। एक इरानी अधिकारीले उक्त जलमार्ग हुँदै पार हुने जुनसुकै जहाजमाथि हमला हुन सक्ने चेतावनी दिएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्तिमा ठूलो असर पर्ने सम्भावनाबारे चिन्ता बढेको छ। यो जलमार्ग अवरुद्ध भए विश्व अर्थतन्त्रमा ठूलो झट्का लाग्न सक्ने विश्लेषणहरू सार्वजनिक हुन थालेका छन्।
यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानमाथि अमेरिकाको सबैभन्दा कडा सैन्य प्रहार अझै बाँकी रहेको चेतावनी दिएका छन्। उनको यस्तो भनाइ त्यतिबेला आएको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारको आक्रमणलाई तेहरानबाट उत्पन्न खतरा समाप्त गर्ने ‘अन्तिम र उत्कृष्ट अवसर’ का रूपमा व्याख्या गरेका थिए। यसले आगामी दिनमा युद्ध अझ तीव्र बन्न सक्ने संकेत दिएको छ।
युद्धको बीचमै अर्को संवेदनशील घटना पनि सार्वजनिक भएको छ। कुवेतमा आफ्नै सेनाको ‘झुक्किएर भएको प्रहार’ का कारण तीनवटा अमेरिकी लडाकु विमान खसालिएको पुष्टि भएको छ। यद्यपि ती विमानमा सवार चालक दलका सदस्यहरू भने जीवितै उद्धार गरिएको जनाइएको छ। यो घटनाले युद्धको तनावपूर्ण परिस्थितिमा सैन्य समन्वयमा देखिएको कमजोरीतर्फ पनि संकेत गरेको छ।
यस युद्धबारे प्रतिक्रिया दिँदै बेलायती प्रधानमन्त्री कियर स्टार्मरले आकाशबाट गरिने आक्रमणको भरमा सत्ता परिवर्तन गर्ने रणनीतिमा आफू विश्वास नगर्ने स्पष्ट पारेका छन्। तथापि इरानी मिसाइल केन्द्रहरूमाथि ‘रक्षात्मक’ कारबाही गर्न अमेरिकालाई बेलायती सैन्य अखडाहरू प्रयोग गर्न अनुमति दिएको उनको भनाइले पश्चिमी गठबन्धन युद्धमा अप्रत्यक्ष रूपमा अझ गहिरो रूपमा संलग्न हुँदै गएको संकेत दिएको छ।
लगातार फैलिँदो सैन्य कारबाही, खाडी क्षेत्रमा बढ्दो असुरक्षा, ऊर्जा आपूर्तिमाथि पर्ने सम्भावित प्रभाव र महाशक्तिहरूको प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नताले यो युद्ध केवल क्षेत्रीय संघर्षमा सीमित नरही विश्वव्यापी तनावको कारण बन्न सक्ने चिन्ता बढाएको छ। अन्तर्राष्ट्रिय समुदायले परिस्थितिलाई नजिकबाट नियालिरहेको छ, तर तत्काल युद्धविरामको सम्भावना भने क्षीण देखिँदै गएको विश्लेषकहरू बताउँछन्।
