काठमाडौँमा गुण्डागर्दीविरुद्ध रातभर प्रहरीको अपरेसनः जन्मदिन पारेर चक्रे मिलनसहित ४८ जना पक्राउ

राजधानी— उपत्यकामा पुनः सक्रिय हुँदै गएको गुण्डागर्दीलाई नियन्त्रण गर्न प्रहरीले आक्रामक अपरेसन थालेको छ। बुधबार राति अबेरसम्म प्रहरीद्वारा सञ्चालित विशेष अपरेसनमा चर्चित गुण्डा नाइके चक्रे मिलनसहित ४८ जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार, चक्रे मिलनको जन्मदिनको अवसरमा महाराजगञ्जस्थित साम्बला होटलको आठौँ तलामा आयोजित जमघटबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

‘उनीहरू ठमेलस्थित एलओडी क्लब जाने तयारीमा रहेको सूचनाका आधारमा अपरेसन गरिएको हो,’ आचार्यले भने, ‘ठमेल क्षेत्र अर्का गुण्डा नाइके दीपक मनाङेको प्रभाव क्षेत्र मानिन्छ, त्यसैले दुवै समूहबीच मुठभेडको सम्भावना बढेको थियो।’

प्रहरीको प्राथमिक अनुसन्धानमा समेटिएका अधिकांश व्यक्तिहरू विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको खुलेको छ। ‘पक्राउ परेकाहरूको पुरानो क्रिमिनल ट्रयाक रेकर्ड खोतल्न बिहानदेखि काम सुरु भएको छ,’ आचार्यले थपे, ‘उक्त अनुसन्धानपछि कारबाही प्रक्रिया अघि बढाइनेछ।’

गुण्डागर्दीविरुद्ध काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त रूपमा अपरेसन चलाएको हो। यसअघि मंगलबार राति मात्रै ठमेलबाट अर्का कुख्यात गुण्डा ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङ पक्राउ परेका थिए। नगरकोट दोहोरी साँझमा अत्यधिक मदिरा सेवनपछि दुई पक्षबीच विवाद हुँदा प्रहरी पुगेको थियो।

उक्त घटनामा अर्का पक्षका नुवाकोटको सूर्यगढी–२ का ३० वर्षीय रवीन्द्र गुरुङ र पाँचथरको फिदिम–१० का २६ वर्षीय दिलकुमार तुम्बाफो पनि पक्राउ परेका छन्। उनीहरूले घटनास्थलमै प्रहरीमाथि दुव्र्यवहार गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट