लिची बगैंचा घुस प्रकरणः एमालेले सुजन लामा र के गिरीलाई निलम्बन गर्यो

राजधानी— नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ‘लिची बगैंचा’ घुस प्रकरणमा संलग्न रहेको अडिओ सार्वजनिक भएपछि बिचौलियाको भूमिकामा देखिएका सुजन लामालाई निलम्बन गरेको छ।
प्रदेश कमिटी सचिव धनन्जय दवाडीका अनुसार शनिबार र आइतबार बसेको बैठकले लामासहित मुद्दा चलिरहेका प्रदेश विभाग सदस्य के गिरीलाई पनि निलम्बन गर्ने निर्णय गरेको हो।
सुजन लामाले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग भएको ‘डिल’ सम्बन्धी अडिओमा बार्गेनिङ गरिरहेको आवाज सार्वजनिक भएको थियो। अडिओ सार्वजनिक भएपछि राजकुमार गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए।
सुजन लामा एमाले गण्डकी प्रदेश कमिटीको सल्लाहकार परिषद् सदस्य थिए। यसअघि प्रदेश कमिटीले उनीसँग स्पष्टीकरण मागेको थियो। तर, दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनलाई सफाइ नपाएसम्मका लागि निलम्बन गरिएको सचिव दवाडीले जानकारी दिए।
यस प्रकरणमा लामा र गिरी दुवैलाई पार्टी अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै कारबाही गरिएको हो। प्रदेश कमिटीले अनुशासनमा कडाइ अपनाउने नीति अनुसार आगामी निर्णयहरू लिने चेतावनी समेत दिएको छ।