काठमाडौँबाट सुनसरी जाँदै गरेको ट्रकको ठक्करबाट उदयपुरमा वृद्ध गोठालाको मृत्यु, ट्रक सडकमै पल्टियो

गाईघाट — मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगिटोलमा ट्रकको ठक्करबाट एक वृद्ध गोठालाको मृत्यु भएको छ।
सोमबार दिउँसो काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्र. ३–०१–००२–ख ०५६१ नम्बरको ट्रक अनियन्त्रित भई रौतामाई गाउँपालिका–७ का ७२ वर्षीय टंकबहादुर मगरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा वृद्धको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी केदारमान दोङले जानकारी दिए। उनी गोठालो गरेर बहिनीको घर फर्किने क्रममा थिए। त्यसैक्रममा ‘कोल्ड ड्रिङ्स’ बोकेको ट्रकले मगरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा ट्रकका सहचालक कालिञ्चोक गाउँपालिका–४, दोलखाका ४० वर्षीय गोमे दर्जी घाइते भएका छन्। उनलाई जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ।
ट्रक चालक बनेपा नगरपालिका–१४, काभ्रेपलाञ्चोकका ५४ वर्षीय नवराज राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।