सप्तरीको हनुमाननगरका २ युवक ३८ हजार नक्कली नोटसहित पक्राउ

इटहरी– सुनसरीको भारतीय सीमा नजिककाबाट प्रहरीले नक्कली नेपाली नोटसहित सप्तरीका २ जना युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र सोही नगरपालिका–१ का २५ वर्षीय राजेश चमार रजक छन्। मंगलबार साँझ सुनसरी प्रहरीले उनीहरुलाई लु ९२ प २३८० नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार मोटरसाइकलको पछाडि सवार राजेश चमार रजकको साथबाट एक हजार दरका ३८ थान नक्कली नेपाली नोट फेला परेका हुन्।
हाल पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको डीएसपी खतिवडाले जानकारी दिए। साथै, उनीहरू नक्कली नोटको कारोबारमा संलग्न मुख्य गिरोहसँग आवद्ध छन् वा छैनन् भन्नेबारेमा खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
सुनसरी क्षेत्रमा यसअघि पनि पटक–पटक ठुलो परिमाणमा नक्कली नोट बरामद भएका घटनाहरू भए पनि मूल गिरोहसम्म प्रहरी पुग्न नसकेको भन्दै आलोचना हुँदै आएको छ।