धरौटीमा रिहा भएका दुर्गा प्रसाईंमाथि १८ करोड बढी कर्जा दुरुपयोगको अभियोग, श्रीमती र छोराछोरी पनि प्रतिवादी

राजधानी— मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईं सोमबार उच्च अदालत पाटनका दुई छुट्टाछुट्टै इजलासबाट धरौटीमा रिहा भएका छन्। तीनकुने घटनामा संलग्न भएको अभियोगमा जिल्ला अदालतले थुनामा पठाए पनि उच्च अदालतले ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

यस्तै आइतबार दर्ता भएको बैंकिङ कसुरसम्बन्धी अर्को मुद्दामा पनि उच्च अदालतको वाणिज्य इजलासले २५ लाख धरौटी माग गरेको थियो। मागअनुसार धरौटी बुझाएर प्रसाईं सोमबार राति नै छुटेका हुन्। सो मुद्दामा उनका श्रीमती, छोरा र छोरी पनि प्रतिवादी छन्।

दुर्गा प्रसाईंमाथि १८ करोड ४४ लाख रुपैयाँ कर्जा दुरुपयोग गरेको अभियोग लागेको छ। एनआईसी एसिया बैंक, गुडविल फाइनान्स र नेपाल इन्भेस्टमेन्ट बैंकबाट विभिन्न प्रयोजनका लागि लिएको कर्जा रकम पुरानो ऋण चुक्ता गर्न प्रयोग गरेको खुलासा भएको छ।

प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पताल, यूए मेडिको सप्लायर्स र होटल अट्रियुमका नाममा कर्जा लिएका थिए। तर, ती कर्जा आफ्नो निजी मेडिकल कलेज ‘बी एन्ड सी टिचिङ हस्पिटल मेडिकल कलेज’को ऋण तिर्न प्रयोग गरेको पाइएको हो।

एनआईसी बैंकबाट पूर्वाञ्चल क्यान्सर अस्पतालको भवन निर्माणका लागि प्रवाह भएको १२ करोड ५० लाख रुपैयाँ कर्जाबाट बन्दना कन्स्ट्रक्सनलाई ११ करोड ८० लाख रुपैयाँ भुक्तानी गरिएको थियो। तर, सो कम्पनीबाट फेरि बी एन्ड सी मेडिकल कलेजको नाममा ५ करोड ४४ लाख रुपैयाँ रकमान्तर गरिएको पाइएको छ।

उक्त रकमबाट ९५ लाख रुपैयाँ निरोज मेडिको ट्रेडर्सलाई दिइएको र बाँकी ३ करोड ३७ लाख ५० हजार रुपैयाँ डा. वीरेन्द्रकुमार यादवसहित ५ जना डाक्टरहरूको नाममा रकमान्तर गरिएको थियो।

डा. यादवले सो रकम दुर्गा प्रसाईंलाई स्थानान्तरण गरेपछि प्रसाईंले सोही रकम प्रदीप मित्तललाई पुरानो कर्जा चुक्ता गर्न दिएको देखिएको छ। यसरी एकपछि अर्को रकमान्तर गर्दै ५ करोड ४४ लाख रुपैयाँ दुरुपयोग गरिएको अभियोग छ।

त्यस्तै, प्रसाईंले पूर्वाञ्चल क्यान्सर हस्पिटल, यूए मेडिको सप्लायर्स र होटल अट्रियुमका नाममा लिएको कर्जा पनि जुन प्रयोजनका लागि लिएको हो, सोही प्रयोजनमा नलगाई अन्यत्र खर्च गरेको पाइएको छ।

एनआईसी बैंकबाट लिएको १२ करोड ५० लाख, गुडविल फाइनान्सबाट लिएको १० करोड र नेपाल इन्भेस्टमेन्ट बैंकबाट लिएको ५ करोड रुपैयाँमध्ये अधिकांश रकम बीएन्डसी मेडिकल कलेजको पुरानो ऋण तिर्न लगाइएको अनुसन्धानबाट खुलेको हो।

होटल अट्रियुमका नाममा लिएको ५ करोड रुपैयाँमध्ये ४ करोड भगवती कन्स्ट्रक्सनलाई दिइएको र सो कम्पनीबाट रकम रकमान्तर गरी बीएन्डसीको ऋण तिरिएको हो। यस्तै, यूए मेडिको सप्लायर्सका नाममा लिएको १० करोडमध्ये महालक्ष्मी इन्टरप्राइजेजमा भुक्तानी भएको तर त्यो रकम फेरि फिर्ता लिएर बीएन्डसीकै ऋणमा खर्च गरिएको छ।

होटल अट्रियुमको नाममा कर्जा लिँदा क्यासिनो, ब्यांक्वेट हल र स्विमिङ पुल बनाउने उल्लेख भए पनि ती कार्यमा रकम खर्च नगरी बीएन्डसी मेडिकल कलेजको पुरानो कर्जा चुक्ता गरिएको प्रमाणित भएको छ।

यो मुद्दामा प्रसाईंसँगै उनकी श्रीमती उमा प्रसाईं, छोरा निराजन र छोरी आर्जु पनि प्रतिवादी छन्। कर्जा दुरुपयोगको मुद्दामा दुर्गा प्रसाईंमाथि १८ करोड ४४ लाख रुपैयाँ बिगो कायम गरिएको छ। पत्नी उमा र छोरी आर्जुका हकमा ९–९ करोड र छोराको हकमा ४ करोड रुपैयाँको बिगो कायम भएको छ।

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार, एक करोडदेखि १० करोडसम्म बिगो भएमा ४ देखि ६ वर्ष र १० करोडभन्दा बढी भएमा ६ देखि ८ वर्षसम्म कैद हुने प्रावधान छ। साथै, बिगो रकम बराबरकै जरिवाना पनि तिराउन सकिने कानुनी व्यवस्था छ।

प्रसाईंले बयानमा सबै कारोबार आफूले नै गर्ने गरेको बताउँदै सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन्। अब बाँकी अभियुक्तहरूको बयानपछि मुद्दाको प्रक्रिया अघि बढ्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट