उत्तराखण्डको बाढीपहिरोमा २२ नेपाली सम्पर्कविहीन, घाइतेको भारतमै उपचार

राजधानी— भारतको उत्तराखण्ड राज्यमा गत मंगलबार र बुधबार भएको भीषण बाढी र पहिरोमा परेर कम्तीमा २२ नेपाली सम्पर्कविहीन भएका छन। जाजरकोटका १३, बर्दियाका ५, धादिङका ४ र जुम्लाका एक जना बेपत्ता छन् । घटनामा घाइते भएका केहीको भारतमै उपचार भइरहेको छ।

मंगलबार ‘क्लाउड बस्र्ट’ (अत्यधिक वर्षा) का कारण उत्तरकाशी जिल्लाको धराली बजारमा बाढी आएको थियो भने बुधबार पौडी गढवालको ग्राम बाकुडानजिक सिन्धु खोला किनारमा खसेको पहिरोले नेपाली कामदार बगाएको हो। यी दुवै घटनामा नेपालीहरू परेको अनुमान गर्दै प्रभावित स्थानीय तहहरूले नेपाल सरकारसँग उद्धारका लागि पहल गर्न आग्रह गरेका छन्।

जाजरकोटको कुशे गाउँपालिका–२ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निम सिंह, रविन सिंहसहित परिचय नखुलेका ७ जना सम्पर्कविहीन छन्। गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार अन्य वडाका व्यक्तिहरूसमेत हराएको आशंका छ। उनीहरू मजदुरीका लागि ३÷४ महिनाअघि भारत गएका थिए।

बस्नेतका अनुसार जुम्लाको तिला गाउँपालिकाका जनकबहादुर शाही र रुकुम घर भएका एक जना पनि सम्पर्कविहीन छन्।

पौडी गढवालको थलिसेन ब्लकअन्तर्गत बकुडा गाउँमा सडक निर्माणमा संलग्न बर्दियाका कामदार टेन्टमा बसिरहेका बेला बुधबार बिहान १० बजेतिर माथिबाट आएको ठूलो पहिरोले बगायो।

बेपत्ता हुनेमा मधुवन नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र खड्का, उनकी ३० वर्षीया श्रीमती सरस्वती र २ वर्षीय छोरा रोमन, मधुवन–५ की अमृता परियार र २१ वर्षीय सुवास विक रहेका छन्।

घटनाको प्रत्यक्षदर्शी चित्रबहादुर पौडेलका अनुसार उक्त क्षेत्रमा तीन÷चार दिनदेखि लगातार वर्षा भइरहेको थियो। वर्षाका कारण टेन्टमै रहेका बेला पहिरो खसेको हो। पहिरोमा परी मधुवन–८ की लक्ष्मी परियार र मधुवन–७ का भूपेन्द्र खत्रीको हातखुट्टा भाँचिएको छ भने उनीहरूको हल्द्वानीस्थित सुशीला तिवारी अस्पतालमा उपचार भइरहेको छ।

धादिङको ज्वालामुखी गाउँपालिका–२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङसमेत सम्पर्कविहीन भएका छन्। धादिङका सीडीओ सुमन घिमिरेका अनुसार उनीहरू कामका लागि उत्तराखण्ड गएका थिए।

दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लले उत्तरकाशी घटनामा नेपाली हराएको विषयमा भारतीय प्रहरीबाट औपचारिक जानकारी नआएको बताए। स्थानीय तह र नेपाली समुदायबाट आएको सूचनाका आधारमा बुझ्ने प्रयास भइरहेको उनले बताए।

धराली बजारको घटनामा २ सय ७४ जनाको उद्धार भएको र ४ जनाको शव भेटिएको भए पनि ती सबै भारतीय नागरिक भएको प्रारम्भिक जानकारी आएको छ। पौडी गढवालको घटनामा भने ५ जना नेपाली बेपत्ता भएको र केही घाइते भएको पुष्टि भएको मल्लले जनाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट