पर्सामा जिम गर्दागर्दै कैदीलाई हर्टएट्याक, आईसीयू बेड खाली नहुँदा उपचार नभएर मृत्यु

वीरगञ्ज — पर्साको वीरगन्ज कारागारमा सजाय भोगिरहेका एक कैदीको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१७ खल्वाटोलका २८ वर्षीय राहुल कुमार साह तुराहा छन्।
कर्तव्य ज्यानको मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका तुराहा २०७९ सालदेखि वीरगन्ज कारागारमा थिए। मंगलबार बिहान करिब सवा ८ बजे कारागारको जिममा शारीरिक कसरत गर्ने क्रममा उनी अचानक अचेत भएका थिए। प्रहरी र कारागारका स्वास्थ्यकर्मीले तुरुन्तै उनलाई नारायणी अस्पतालको आकस्मिक कक्षमा पु¥याएका थिए।
अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार, तुराहालाई अस्पताल पु¥याउँदा मुखबाट रगतसहितको फिज निस्किरहेको र रक्तचाप शून्य थियो। प्रारम्भिक परीक्षणमा उनको अवस्था अति जटिल देखिएको र तुरुन्तै आईसीयूमा भर्ना गर्नुपर्ने भए पनि त्यतिबेला बेड खाली नभएकाले चिकित्सकले अन्य अस्पतालमा रेफरको तयारी गरेका थिए।
तर, अवस्थाको गम्भीरता र बाटोमै मृत्यु हुने जोखिम देखिएपछि पर्साका सीडीओ गणेश अर्यालसँगको सल्लाहमा नारायणी अस्पतालमै एउटा बेड खाली गराएर आईसीयूमा भर्ना गर्ने प्रयास भएको थियो। त्यसक्रममा बिहान साढे ९ बजे उनको मृत्यु भएको डा. सिंहले जानकारी दिए। चिकित्सकले मृत्युको कारण पल्मोनरी इडिमा (हार्ट फेलियर) रहेको बताए।
घटनापछि मृतकका परिवारजन र आफन्तले अस्पताल र प्रशासनको लापरवाहीका कारण समयमै उपचार नपाउँदा मृत्यु भएको आरोप लगाएका छन्। मृतकका काकाका छोरा जगदीश साह तुराहाले डाक्टरले रेफर गरिसकेपछि एम्बुलेन्समा राखिएको बिरामीलाई प्रहरीले सीडीओको आदेश भन्दै अन्यत्र लैजान नदिएको दाबी गरे।
‘हामीले धेरै गुहार लगायौं, तर कुरा सुन्ने कोही भएन। यसरी नै मेरो भाइको ज्यान गयो,’ उनले भने। परिवारजनले दोषीमाथि कारबाही र क्षतिपूर्ति नपाएसम्म शव नबुझ्ने चेतावनी दिएका छन्।
तर, सीडीओ अर्यालले भने, बिरामीलाई कारागारबाट समयमै अस्पताल पु¥याइएको र चिकित्सकले सम्भव सबै प्रयास गरेको बताए। ‘आईसीयूमा बेड खाली गराएर तुरुन्तै उपचार सुरु गरियो, तर पहिलेदेखि नै अवस्था जटिल भएकाले बचाउन सकिएन,’ उनले भने।
मृतकका आफन्तसँग छलफल गरेर गुनासो सुन्न आफू तयार रहेको अर्यालले जनाएका छन्। यसअघि पनि वीरगन्जमै एक पत्रकार र सशस्त्र प्रहरीका एसपीको समेत शारीरिक कसरतकै क्रममा यस्तै मृत्यु भएको घटना भएको अस्पतालका चिकित्सकहरूले बताएका छन्।