ठगी र संगठित अपराध मुद्दा लागेपछि सिरहा भूमि आयोगका अध्यक्ष फरार, कार्यालय रित्तो

लहान— भूमि समस्या समाधान आयोग, सिरहाका अध्यक्ष रामअधीन यादव ठगी र संगठित अपराध मुद्दामा फरार भएपछि आयोगको कार्यालय सुनसान बनेको छ। सधैं भीडभाड रहने यो कार्यालय अहिले ताला झुण्ड्याइएको कोठा र खाली टेबल कुर्षीको दृश्यमा सीमित छ।

जिल्ला प्रहरी कार्यालय, सिरहाले करिब एक महिना अघि नै यादवविरुद्ध ठगी र संगठित अपराधको जाहेरी दर्ता गरेको थियो। त्यस यता उनी सार्वजनिक रूपमा देखिएका छैनन्। जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा सिरहा जिल्ला अदालतमा दर्ता गरी अध्यक्ष यादव, कम्प्युटर अपरेटर सन्तोषकुमार यादव र मालपोत कार्यालय सहयोगी राजकुमार रायलाई प्रतिवादी बनाएको छ।

अदालतले सन्तोषकुमार र रायलाई पुर्पक्षका लागि कारागार पठाएको छ भने अध्यक्ष यादव फरार छन्। अध्यक्ष यादवमाथि सुकुम्बासीका नाममा गैरसुकुम्बासीलाई जग्गा उपलब्ध गराउने, फर्जी स्रेस्ता बनाउने, सरकारी छाप र हस्ताक्षर कीर्ते गर्ने र यसका नाममा आर्थिक ठगी गर्ने जस्ता गम्भीर आरोप छन्। संगठित अपराधको विषयमा भने थप अनुसन्धान भइरहेको जनाईएको छ।

अध्यक्ष फरार भएपछि कार्यालयमा एक कर्मचारी मात्रै वस्ने गरेका छन्। नायब सुब्बा शैनी साहले कार्यालयमा अनुसन्धान चलिरहेको र त्यसैले कागजात सुरक्षित राख्न कोठामा ताल्चा लगाईएको वताए। आयोगका सदस्य–सचिवसमेत रहेका नापी कार्यालय, सिरहाका जनकराज ओझाले यो अवस्थाबारे अज्ञानता प्रकट गरे।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट