मोरङको कटहरीमा दोहोरा झडपः धारिलो हतियार प्रहार, एक युवक घाइते

विराटनगर– मोरङको कटहरी गाउँपालिका–३ सहनी टोलमा सोमबार राति दोहोरो झडप भएको छ। झडपका क्रममा धारिलो हतियार प्रहार हुँदा २७ वर्षीय शेख आजम घाइते भएका छन्। घाइते आजमलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराट नर्सिङमा रिफर गरिएको छ।
आजम आईसीयूमा उपचाररत छन् र उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। आजमको घाँटीमा चोट लागेको र कुन प्रकारको हतियार प्रयोग गरिएको यकिन हुन नसकेको जनाईएको छ।
मोरङ प्रहरीका डीएसपी कोपिला चुँडालका अनुसार सोमबार राति आजम र कटहरी–३ का २० वर्षीय विभीषण सहनीबीच विवाद भएको थियो।
आजम ८–१० जना युवासहित विवाद गर्न पुगेका थिए। त्यसपछि सहनी पक्षका व्यक्तिहरू भेला भएर आजम पक्षलाई लखेटेका थिए। झडपको क्रममा आजममाथि धारिलो हतियार प्रहार भएको पाइएको छ। प्रहरीले घटनामा संलग्न भएको आशंकामा २५ वर्षीय कृष्ण सहनीलाई पक्राउ गरेको छ। कृष्ण, विभीषणका दाजु हुन्।
डीएसपी चुँडालले घटनामा अन्य व्यक्तिहरू फरार रहेको बताउँदै खोजी भइरहेको जानकारी दिईन। फरार रहेका संलग्न व्यक्तिहरूको खोजीका लागि व्यापक प्रहरीले परिचालन गरिएको उनको भनाई छ।