पूर्वपत्नीको उजुरीपछि प्रहरी इन्स्पेक्टर बलात्कार आरोपमा पक्राउ

राजधानी– पूर्वपत्नीलाई बलात्कार र ज्यान मार्ने उद्योग गरेको आरोपमा नेपाल प्रहरीका एक जना इन्स्पेक्टर पक्राउ परेका छन्।
प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत इन्स्पेक्टर दिनेश गुरुङ पक्राउ परेका हुन। उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ। उनी विरुद्ध उनकै पूर्वपत्निले उजुरी दिएको प्रहरीले जनाएको छ।
उनले हात्तीवनमा रहेको डेरामा गएर पूर्वपत्नी शुभद्रा दाहालमाथि निर्घात कुटपिट गरेको बताइएको छ। गुरुङले केही समयअघि दाहालसँग सम्बन्ध विच्छेद गरेका थिए। तर आफ्ना बच्चाहरूसँग बस्दै आएकी दाहालमाथि गुरुङले शुक्रबार साँझ मरणासन्न हुने गरी गरी कुटपिट गरेको प्रहरीको भनाइ छ।
त्यसपछि दाहालले आफूमाथि कुटपिट भएको भन्दै फेसबुकमा फोटो राखेर सहयोगको याचना गरेकी थिइन्। उनले कुटपिटबाट आफू रगताम्मे भएको फोटो समेत सार्वजनिक गरेकी थिइन्।
त्यसपछि पक्राउ परेका गुरुङलाई काठमाडौं जिल्ला अदालतले बलात्कार र ज्यान मार्ने उद्योगको कसुरमा अनुशन्धान गर्न पाँच दिनको म्याद दिएको छ। ललितपुर प्रहरी परिसरका एसपी चक्रराज जोशीका अनुसार घट्नाको थप अनुशन्धान भईरहेको छ।
इन्स्पेक्टर गुरुङले सामाजिक सञ्जालमार्फत यसअघि आफ्नो पूर्वपत्नीबाट आफू पीडित भएको दाबी गरेका थिए। उनका अनुसार, पूर्वपत्नीसँगै रहेकी छोरीसँग भेट्न जाँदा उनलाई अभद्र व्यवहार गरिएको थियो।