जिप दुर्घटनामा गर्भवती महिलाको मृत्यु, १० जना घाइते

राजधानी— दार्चुलाको नौगाड गाउँपालिकामा भएको जिप दुर्घटनामा एक गर्भवती महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

बिहीबार बिहान नौगाड गाउँपालिका–४ होपरीमा लाकेन्द्रसिंह ठगुन्नाले चलाएको जिप दुर्घटना हुँदा २५ वर्षीया पार्वती टमटा गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा दिउँसो १ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर छत्रबहादुर रावतका अनुसार दुर्घटनामा घाइते भएका १० मध्ये २६ वर्षीय मोहन ठगुन्ना, १८ वर्षीया अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्नाको अवस्था गम्भीर छ। उनीहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।

नौगाड गाउँपालिका–४ का ४० वर्षीया रम्भा महता, ३४ वर्षीय उमेशसिंह ठगुन्ना, १२ वर्षीय राम महत, १४ वर्षीया कान्छी महत, श्याम महता, ७२ वर्षीया गम्बा महता र अपिहिमाल गाउँपालिका–४ का १९ वर्षीय लक्ष्मी कार्कीको अवस्था सामान्य छ।

दुर्घटना चिप्लो बाटोमा ब्रेक नलाग्दा भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट