व्यापारीको आत्महत्या दुरुत्साहन प्रकरणमा माओवादी नेतासहित ५ जना पक्राउ

राजधानी– दाङको तुलसीपुरका व्यापारी दुर्गा भुसालको आत्महत्या प्रकरण प्रहरीले माओवादी नेतासहित पाँच जनालाई पक्राउ गरेको छ। भुषालेको सुसाइड नोटमा माओवादी नेता र उनीसँग सम्बन्धित व्यक्तिहरूको नाम उल्लेख भएपछि प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा नेकपा (माओवादी केन्द्र) तुलसीपुरका नगर सह–इन्चार्ज चित्रबहादुर खडका (अनुपम) प्रमुख छन्। उनीसँगै तुलसीपुर उपमहानगरपालिका–५ की खुमा भन्ने राधिका वली, हाल तुलसीपुर–५ बस्ने रुकुम घर भएका चन्द्रबहादुर खडका, यादव श्रेष्ठ, तुलसीपुर–६ की नन्दा वली पक्राउ परेका छन्।
भुसालले आफ्नो जीवन अन्त्य गर्नु अघि लेखेको सुसाइड नोटमा आठ जनाको नाम उल्लेख गरेका थिए। तीमध्ये पाँच जनालाई प्रहरीले पक्राउ गरे पनि अझै तीन जना फरार छन्। पक्राउ परेकाहरूलाई ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।
भुसाल ‘कालिका अडियो सेन्टर’ का सञ्चालक थिए। गत मङ्गलवार राति उनी आफ्नै पसलमा मृत अवस्थामा भेटिएका थिए। आत्महत्यापछि फेला परेको सुसाइड नोटमा उनले विभिन्न व्यक्तिसँग सापटी लिएर लगानी गरेको करोडौँ रकम समयमा असुल नहुँदा आर्थिक दबाब खेप्न नसकी आत्महत्या गरेको खुलाएका छन्।
माओवादी नेताको नाम प्रत्यक्षरूपमा आत्महत्या दुरुत्साहन प्रकरणमा आउनु माओवादी संगठनकै चरित्रमाथि प्रश्न खडा भएको छ। स्थानीय व्यापारीहरू भुसालमाथि राजनीतिक पहुँच प्रयोग गरेर लगानी असुल्न असहज बनाइएको भन्दै माओवादी नेतामाथि आक्रोशित छन्।