दुई सन्तानसहित कोशीनहरमा हाम्फाल्दा बाँचेकी महिला मोरङ कारागारमा मृत फेला

विराटनगर– मोरङ जिल्ला कारागारको महिला सेलभित्र एक महिला कैदी मृत फेला परेकी छन्। बुधबार बिहान शौचालयभित्र झुण्डिएको अवस्थामा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ घर भएकी ३२ वर्षीया राधा भट्टराई (राधिका) को शव भेटिएको हो।
कारागार प्रमुख (जेलर) गौरव ढुंगेलका अनुसार, भट्टराईलाई सुनसरी जिल्ला अदालतले कर्तव्यज्यान मुद्दामा जन्मकैद सजाय सुनाएको थियो। उनले आफ्ना दुई नाबालक सन्तानसहित सप्तकोशी नहरमा हाम्फालेकी थिइन्।
त्यस क्रममा उनी र एक सन्तान बचाइएका थिए भने अर्को सन्तानको मृत्यु भएको थियो। सोही घटनामा उनीविरुद्ध कर्तव्यज्यानको मुद्दा दर्ता भएको थियो। भट्टराईलाई २०८० साल माघ ५ गतेदेखि मोरङ कारागारमा राखिएको थियो।
पछि सुनसरी जिल्ला अदालतले २०८१ साल कात्तिक ७ गते उनलाई २० वर्ष कैद सजायको फैसला सुनाएको थियो। जिल्ला प्रहरी कार्यालय मोरङले उनको मृत्युबारे अनुसन्धान भइरहेको जनाएको छ।