हातमा रुबीको नामको ट्याटु, छातीमा उनकै फोटोः प्रेमीकाको हत्या गरेपछि लक्ष्मणको विलौना– अव म बाँचेर के गर्नु ?

रौतहट — रौतहटमा भेटिएको सुटकेस हत्या प्रकरणमा नयाँ आयाम थपिएको छ। माधवनारायण–६ माधोपुरकी २६ वर्षीया रुबी साहको हत्या आरोपित लक्ष्मण पासवानको हातमा रुबीकै नामको ट्याटु र छातीमा उनको तस्वीर खोपेको भेटिएको छ।
बुधबार बिहान प्रहरीले गम्भीर रूपमा जलेको अवस्थामा लक्ष्मणलाई उनकै घर नजिकै फेला पारेको थियो। अनुहारदेखि शरीरसम्म जलेका उनलाई प्रहरीले उद्धार गरी पहिले गरुडास्थित अस्पताल, त्यसपछि थप उपचारका लागि काठमाडौंको कीर्तिपुर बर्न अस्पताल पठाएको छ।
आत्महत्याको प्रयास गर्नुअघि उनले नौ मिनेट लामो भिडियो समाजिक सञ्जालमा पोष्ट गरेका थिए। भिडियोमा उनले रुबीको हत्या आफूले नै गरेको स्वीकार गर्दै ‘रुबी मरिसकेकी छन्, म बाँचेर के गर्नु ?’ भन्दै आत्महत्यामोसंकेत गरेका छन्।
गत शनिबार राति रुबीलाई हत्या गरेर सुटकेसभित्र हालेर गौर–सिरसिया खण्डको मुडबलवा गेट नजिक फ्यालेपछि लक्ष्मण फरार भएका थिए। प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्दा लक्ष्मणकै संलग्नता देखिएको थियो। डीएसपी राजु कार्कीका अनुसार ‘भिडियो हेर्दा दुवैबीच लामो समयदेखि कुनै न कुनै सम्बन्ध रहेको देखिन्छ, तर यसबारे हामी अझै गहिरो अनुसन्धान गर्दैछौँ।’
भिडियोमा लक्ष्मणले रुबीको मृत्युले आफ्नो जीवन शून्य भएको भन्दै प्रहरीलाई सलाम गरेको दृश्य छ । ‘मेरो जान मरिसकेकी छिन्। म बाँचेर के गर्नु ? पक्राउ परे पनि १०÷१५ वर्ष जेल जानु पर्छ। म जेल बस्न तयार छु,’ भन्दै उनले आफू सजाय स्वीकार्न तयार रहेको जनाएका छन्। यद्यपि, आत्मदाह प्रयासले उनले अपराध पछिको मानसिक पीडा र अपराधबोध स्पष्ट देखाएका छन्।
पासवानको दाहिने हातमा ‘माई हार्ट रुबी कुमारी’ भनेर ट्याटु खोपिएको छ भने छातीमा समेत रुबीको तस्वीर कोरिएको फोटोहरु समाजिक सञ्जालमा छ्यासछ्यास्ती भएका छन्। यसले प्रेममा डुबेको मनोविज्ञान र त्यसकै अन्धाधुन्ध परिणाम स्वरूप घटेको घटनालाई थप रहस्यमयी बनाएको छ ।
रुबी साह घर मूलतः भारतको मुजफ्फरपुर हो। माधव नारायण नगरपालिका–६ माधोपुर माइती भएकी उनले गौरमा डेरा लिएर चार वर्षीया छोरीलाई पढाउँदै आएकी थिइन्। लक्ष्मणको घर र रुबीको माइती एउटै टोलमा भएकोले उनीहरूको सम्बन्ध गहिरिएको अनुमान प्रहरीले गरेको छ।