दुर्घटनामा ९ जनाको मृत्यु भएको गाउँमा पुगेका बिहारका मन्त्रीलाई स्थानीयले लखेटे, १ किलोमिटर दौडेर ज्यान जोगाए

राजधानी– भारतको बिहार सरकारका ग्रामीण विकास मन्त्री श्रवण कुमार बुधबार बिहान स्थानीयको आक्रोशको शिकार बनेका छन्। नालन्दा जिल्लाको हिल्सा थाना क्षेत्रअन्तर्गत पर्ने मलावन गाउँमा उनीमाथि ढुंगामुढा भएको भारतीय पत्रिका जागरणले उल्लेख गरेको छ।

मन्त्री कुमार गाउँमा तीन दिनअघि भएको सडक दुर्घटनामा ज्यान गुमाएका ९ जनाका परिवारलाई सान्त्वना दिन पुगेका थिए। सो क्रममा स्थानीय विधायक समेत सहभागी थिए। तर भेटघाटपछि फर्कन लाग्दा गाउँलेहरूले उनीहरूलाई केही समय अझै गाउँमै बस्न आग्रह गरेका थिए। मन्त्रीले अन्य कार्यक्रम तय भएकाले फर्कनुपर्ने बताएका बेला विवाद चर्किएको बताइएको छ।

गाउँलेहरूले क्षतिपूर्ति सम्बन्धी माग अघि सारेपछि परिस्थिति तनावपूर्ण बन्यो। भीडले मन्त्री, विधायक र पत्रकारको टोलीलाई घेरेर आक्रमण गर्न थाले। आक्रोशित समूहले ढुंगामुढा गर्दै टोलीमाथि हमला गर्दा मन्त्री श्रवण कुमारलाई ज्यान जोगाउन झन्डै १ किलोमिटरसम्म दौडनुपरेको थियो।

ढुंगामुढामा मन्त्रीका अंगरक्षकसहित केही जना घाइते भएका छन्। घाइतेहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा गरिएको छ। घटनापछि ठूलो संख्यामा अतिरिक्त सुरक्षाकर्मी गाउँमा खटाइएको छ। परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गरेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट