विद्यालयदेखिको प्रेम, कोर्ट म्यारिज, विछोड र हत्याः यस्तो छ रुबी साहको हत्या प्रकरणको नालीबेली

जनकपुर – रौतहटकी रुबी साहको हत्या प्रकरणले नयाँ मोड लिएको छ। विद्यालयदेखिको प्रेम, गरिबीले ल्याएको उतार–चढाव र पारिवारिक तिरस्कारका कारण एक युवतीले ज्यान गुमाएकी छन् भने आरोपी युवक जीवन–मृत्युको दोसाँधमा पुगेका छन्।

हत्या आरोपी लक्ष्मण पासवानले मंगलबार राति फेसबुकमा भिडियो पोष्ट गर्दै आफूले नै रुबीको हत्या गरेको स्वीकार गरेका छन्। भिडियोमा उनले भनेका छन– ‘रुबीलाई मारेदेखि मेरो हात काँपिरहेको छ। म बाँचेर के गर्नु ? पक्राउ परे जेल जानुपर्छ, १०/१५ वर्ष सजाय भोग्नुपर्छ।’

लक्ष्मणले भिडियो सन्देशमा रुबीकी आमाकै कारण उसको हत्या गर्नुपर्ने अवस्था आएको दावी गरेका छन्। उनले भिडियो सन्देशमा आफूले कसरी हत्या गरेँ भन्ने कुरा नखुलाए पनि आफूहरूको प्रेमका कारण यो घटना भएको उनको जिकिर छ। रुबीसँग कक्षा १० मा पढ्दा आफ्नो प्रेम भएको तथा भारतको सीतामढीस्थित अदालत र सर्लाही जिल्ला अदालतमा विवाह गरेको बताएका छन्। तर, रुबीकी आमा र दुवै घरपरिवारले आफूहरूको विवाह स्वीकार नगरेको पासवानले बताएका छन्।

भिडियोमा उनले राजन महतो (सम्भवतः रुवीका भिनाजु), राजु, राजा र रुबीकी आमा यो घटनाका मुख्य दोषी रहेको दाबी गरेका छन्। उनकी आमाले पैसाको प्रलोभनमा परेर आफ्नी छोरीलाई तीनैजना केटाहरूसँग सम्बन्ध राख्न लगाएको आरोपसमेत उनले लगाएका छन्। उनको भिडियो यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।

आफुसँग भागेर विवाह गरेपछि रुबीको परिवारले छुटाएर भारतीय केटासँग विवाह गराइदिएको उनको भनाई छ। भारतको विहार, मुजफरपुर रोक्साटोलका शिवसागर साहसँग उनको विवाह भएको थियो। लक्ष्मणले अब आफू पनि बाँच्न नचाहेको र अबको केही बेरमै आफूले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गर्न लागेको जनाएका थिए। आफू गरिब रहेको, रुबीकी आमाले आफूसँग रुबीलाई बस्न नदिएको र अरू हुने खाने धनीमानीसँग बिहे गराइदिएको उनको भिडियोमा उल्लेख छ।

गत शनिबार राति गौर–सिरसिया सडकखण्डअन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटमा राखिएको सुटकेसभित्र रुबीको शव भेटिएको थियो। स्थानीयले शंकास्पद सुटकेस देखेपछि प्रहरीलाई खबर गरेका थिए। तर, प्रहरीले रातभर सुटकेशलाई सुरक्षा दिएर राख्यो, खोलेन। आइतबार बिहान मात्र खोल्दा शव फेला परेको हो।

रुबीको माइती घर माधव नारायण नगरपालिका–२ माधोपुर हो। उनको भारतको विहार, मुजफरपुर रोक्साटोलका शिवसागर साहसँग विवाह भएको थियो। उनी गौरमा डेरा लिएर बस्दै चार वर्षीया छोरालाई पढाउँदै आएकी थिइन्।

प्रहरी अनुसन्धानअनुसार माधोपुरमै घर भई गौरमा डेरा लिएर बस्ने लक्ष्मणले आफ्नै कोठामा रुबीको हत्या गरेका थिए। त्यसपछि शवलाई सुटकेसभित्र हालेर रिक्सामार्फत सडकमा फालिएको थियो। लक्ष्मणको डेराबाट रुबीको चप्पल समेत फेला परेको छ।

हत्या पछि फरार रहेका लक्ष्मण बुधबार बिहान आफ्नै गाउँ नजिक माधवनारायण नगरपालिका–६ स्थित नहरछेउमा पेट्रोल छर्की आगो लगाएर आत्महत्या गर्न खोज्दा पक्राउ परेका हुन। स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। जलेको अवस्थामा उद्धार भएका उनलाई उपचारका लागि गरुडास्थित अस्पताल पुर्‍याइएको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीका अनुसार पासवानको शरीर पूरै जलेको छ। उनी बोल्न नसक्ने अवस्थामा छन्, टाउको हल्लाएर प्रतिक्रिया दिन्छन्। थप उपचारका लागि उनलाई कीर्तिपुर बर्न अस्पताल पठाइएको प्रहरी निरीक्षक रुद्र कँडेलले जानकारी दिए।

यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट