सुन जाकटी राखेर मिटर ब्याजमा पैसा लगानी गर्ने श्रेष्ठ पौने ४ करोड नगद र ३ किलो सुनसहित पक्राउ

काठमाडौँ – राजधानीको गोंगबुस्थित एक घरमा प्रहरीले मंगलबार दिउँसो छापा मारेर पौने ४ करोड नगद र ३ किलो सुन बरामद गरेको छ। काठमाडौँ महानगरपालिका–२६, टाउन प्लानिङस्थित गोरखाका ७६ वर्षीय विनोदकुमार श्रेष्ठको घरमा प्रहरीले छापा मारेको हो।

उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र महाराजगञ्ज वृत्तको संयुक्त टोलीले विशेष सूचनाका आधारमा घरमा छापा मारेको हो। प्रहरीले रकम गन्न मेसिन समेत मगाएर नगद गणना गरेको थियो।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी शेखर खनालका अनुसार बरामद गरिएका नगद र सुन तयारी अवस्थामा रहेका गहना हुन्। प्रारम्भिक अनुसन्धानमा विनोद श्रेष्ठले सुन धितो राखेर विभिन्न व्यक्तिलाई मिटर ब्याजमा रकम दिने गरेको खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले पनि उक्त घरबाट अवैध सुन र नगद भेटिएको पुष्टि गरेका छन्। उनका अनुसार बरामद गरिएको रकम र गहनाबारे स्रोत खुलेको छैन। ‘भन्सार छलेर ल्याइएका सुनका गहना भण्डारण गरिएको र त्यसको बिक्रीबाट आएको रकम हुनसक्ने प्रारम्भिक आशंका छ,’ प्रवक्ता बोहोराले भने।

श्रेष्ठ गोरखा नगरपालिका–१ का स्थायी बासिन्दा भए पनि लामो समयदेखि गोंगबुमा बस्दै आएका छन्। प्रहरीले उनको घरबाट भेटिएका गहना, नगद र अन्य सामग्रीलाई आफ्नो नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस घटनाले काठमाडौंमा अवैध सुन कारोबार र मिटर ब्याज धन्दाको चंगुल अझै बलियो रहेको देखाएको प्रहरीको भनाइ छ। बरामद गरिएको सम्पत्तिको स्रोत पहिचान र संलग्न अन्य व्यक्तिहरुको खोजी सुरु गरिएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट