मेटाले नेपाल सरकारसँग माग्यो कम्पनी दर्ताका कागजात

काठमाडौँ– सामाजिक सञ्जाल फेसबुक सञ्चालक संस्था मेटाले नेपालमा कम्पनी दर्ता प्रक्रियाका लागि आवश्यक कागजातको विवरण माग गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले बुधबार साँझ मन्त्रालयका मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेलमार्फत कागजातको विवरण मागेका हुन्।
‘पौने ५ बजे मेटाका कोही प्रतिनिधिले मन्त्रीज्यूका विज्ञ सल्लाहकारलाई इमेल गरेर दर्ता हुनका लागि आवश्यक कागजातको विवरण माग्नुभएको रहेछ,’ सहसचिव ठाकुरले भने, ‘हामीले त्यसको पाँच मिनेटभित्रै सामाजिक सञ्जाल प्ल्याटफर्म दर्ता हुन आवश्यक पर्ने कागजातबारे जानकारी पठाइसकेका छौं।’
यसअघि सरकारले नेपालमा कम्पनी दर्ता नगरेका सामाजिक सञ्जाललाई क्रमशः रोक लगाउने निर्णय गरेको छ। निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई २६ वटा सूचीकृत नभएका सञ्जाल बन्द गर्न पत्राचार गरिसकेको छ।
मेटाले कागजात मागेसँगै नेपालमा सामाजिक सञ्जाल नियमन र कम्पनी दर्ता प्रक्रियाबारे थप बहस सुरु भएको छ।