हैजा प्रकरणमा मन्त्रीलाई ज्यान मार्ने धम्की दिने टिकटकर किरण साह धरौटीमा रिहा

विरगञ्ज– संघीय खानेपानीमन्त्री प्रदीप यादवलाई टेलिफोनमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेकी टिकटकर किरण साहलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको छ।

जिल्ला अदालतका स्रेस्तेदार प्रभाकर कुमार मल्लिकका अनुसार न्यायाधीश कमलकान्त जोशीको इजलासले बिहीबार थुनछेक बहसपछि साहसँग ५ हजार रुपैयाँ धरौटी माग गरेको हो। अदालतको आदेशपछि पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले साह जिल्ला प्रहरी कार्यालय आएर आफ्नो सरसामान लिएर जान सक्ने बताए।

बाराको कलैया उपमहानगरपालिका–२६ घर भई हाल वीरगन्ज महानगरपालिका–१३ मुर्ली बस्ने साहले हालै वीरगन्जमा फैलिएको हैजा सङ्क्रमणका कारण आफ्नो परिवारजन अस्पतालमा भर्ना भएको भन्दै मन्त्री यादवप्रति असन्तोष जनाएकी थिइन्।

उनले यादवले हैजा नियन्त्रणका लागि कुनै प्रयास नगरेको आरोप लगाउँदै टेलिफोनबाट गालीगलौज र धम्कीसमेत दिएकी थिइन्। त्यसपछि मन्त्री यादवका स्वकीय अधिकृत हरेन्द्र साहले यस विषयमा प्रहरीमा जाहेरी दिएपछि टिकटकर साह पक्राउ परेकी थिइन्।

उनलाई साइबर क्राइम, संघीय सांसदलाई ज्यान मार्ने धम्की र झुटा अफवाह फैलाएको जस्ता तीनवटा मुद्दामा पर्सा प्रहरीले म्याद थपेर अनुसन्धान गरेको थियो।

साहको भनाइ अनुसार हैजा नियन्त्रणमा उदासीनता देखाएको आरोपप्रति रोष व्यक्त गर्न उनले सामाजिक सञ्जाल र फोनमार्फत आक्रोश पोखिन्। तर यसै आधारमा सांसदलाई धम्की दिने, अफवाह फैलाउने जस्ता गम्भीर आरोपमा मुद्दा दर्ता भएपछि यो प्रकरणले ‘सामाजिक सञ्जालको प्रयोग र नियन्त्रण’ सम्बन्धी नयाँ बहस समेत जन्माएको छ।

स्थानीयहरूका अनुसार हैजाले वीरगन्ज क्षेत्रमा त्रास फैलाएको थियो, तर मन्त्रीस्तरको नेतृत्वले तत्कालीन अवस्थामा ठोस पहल नगरेको गुनासो व्यापक थियो। साहको गिरफ्तारी र धरौटीमा रिहाईले स्वास्थ्य संकटप्रति चासो भन्दा बढी राजनीतिक विवाद र सामाजिक सञ्जालको प्रयोग÷दुरुपयोगमाथि प्रश्न उठाएको देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट