बौद्धमा खुकुरी आक्रमणको कथाः ‘ओखर खेल’देखि झिंगे ग्याङको राजनीतिक आवरणसम्म

काठमाडौँ– काठमाडौँको बौद्ध बाहुनाधारा स्थित नयाँ वस्तीमा रहेको डी क्याफेमा खाजा खाएर घर फर्कँदै गर्दा गत १२ साउनको राति जीतबहादुर मोक्तानमाथि अन्धाधुन्ध प्रहार भयो। मोटरसाईकलमा रहेका उनी आक्रमणपछि मोटरसाईकलबाट उत्रिएर भाग्न थाले।

तर, आक्रमणकारी समुहले उनीमाथि खुकुरी प्रहार गर्यो। पेट, ढाड र हातमा धारिलो हतियार परेपछि उनी ढले, तर जसो तसो ज्यान जोगियो। काभ्रेको रोशी–१० घर भइ बौद्धमा बस्दै आएका उनी लामो समय अस्पतालमा उपचारपछि अहिले घर फर्किएका छन्।

आक्रमणकारी भने तत्कालै फरार भए। करिब एक महिना पछि मात्रै घट्नामा संलग्न रहेका सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्क घर भइ जोरपाटी बस्दै आएका २५ वर्षीय लोब्साङ तामाङ, नुवाकोटको शिवपुरी गाउँपालिका–१ घर भइ जोरपाटी नै बस्ने ३३ वर्षीय छुमन भनिने सुमन ब्लोन तामाङ, शिवपुरी–१ नै घर भइ जोरपाटी बस्ने ३४ वर्षीय कुमार ब्लोन तामाङलाई प्रहरीको विशेष टोलीले दिल्ली प्रहरीको सहयोगमा भारतबाट पक्राउ गरेर काठमाडौं ल्यायो।

प्रहरीका अनुसार आक्रमणका योजनाकार लोब्साङले प्रहरीसमक्ष दिएको बयानअनुसार, १२ साउन दिउँसो मोक्तानले आफ्ना बाबु अशोकलाई पिटेका थिए। त्यसको बदला लिन उनीमाथि आक्रमण गरिएको हो।

प्रहरी अनुसन्धानले देखाएको पृष्ठभूमि भने अझै फराकिलो छ। लोब्साङका बाबु अशोक र मोक्तान लगायत ओखर (जुवा) खेल्ने गरेका थिए। त्यसैमा विवाद बढेको र झगडाले आक्रमणको रुप लिएको प्रहरीको भनाइ छ।

यद्यपी, यो विवाद व्यक्तिगत मात्र नभई सामाजिक सञ्जाल, टिकटक र युवतीसम्बन्धी अन्य तनावका कारण पनि चर्किएको हुनसक्ने प्रहरीको आशंका छ। लोब्साङ तामाङ सामान्य युवक होइनन्। उनी नेपाली कांग्रेसको भातृ संगठन तरुण दल सिन्धुपाल्चोकका सदस्य भएको प्रहरी स्रोत बताउँछ। उनी त्यहाँका अध्यक्ष सञ्जय लामा (झिंगे) निकट मानिन्छन्, जसको पृष्ठभूमि पनि विवादास्पद रहेको प्रहरी अधिकारीहरू बताउँछन्।

बौद्ध–जोरपाटी क्षेत्रमा लोब्साङको सक्रियता केवल राजनीतिक होइन, गुण्डागर्दीसँग पनि जोडिएको प्रहरीको बुझाइ छ। यसअघि पनि उनले माकलबारीस्थित स्नुकर हाउसमा एक व्यक्तिमाथि हेल्मेट प्रहार गरेको मौखिक उजुरी प्रहरीसम्म पुगेको थियो।

मोक्तानमाथि पनि चार जनाको समूहले योजनाबद्ध रूपमा आक्रमण गरेको देखिएको छ। व्यक्तिगत झगडालाई ‘ग्याङ’ शैलीमा बदल्ने प्रवृत्ति काठमाडौँका शहरी बस्तीमा बढ्दो छ। बौद्ध घटनाले पनि यही प्रवृत्ति उजागर गरेको प्रहरीको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट