झुम्का कारागारमा ४ दिनमा ३ जनाको मृत्यु, स्क्रब टाइफस, डेंगी र इन्फ्लुन्जा पुष्टि

इटहरी— सुनसरीको झुम्का कारागारमा पछिल्ला दिनमा स्वास्थ्य संकट तीव्र बनेको छ। चार दिनको अवधिमा तीन जना कैदीबन्दीले ज्यान गुमाएका छन् भने तीन सयभन्दा बढी बिरामी परेका छन्। परीक्षणपछि कारागारभित्र स्क्रब टाइफस, डेंगी र इन्फ्लुन्जा फैलिएको पुष्टि भएको छ।

उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने लक्षण देखिएपछि कैदीबन्दीको मृत्यु भएको थियो। स्थिति गम्भीर भएपछि बुधबार कारागारमा स्वास्थ्य शिविर सञ्चालन गरी ६३ जनाको रगत संकलन गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाइएको थियो।

जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार प्राप्त रिपोर्टमा स्क्रब टाइफस, डेंगी र इन्फ्लुन्जा पुष्टि भएको छ। ‘कसै–कसैमा जापनिज इन्सेफ्लाइटिसको आशंका पनि छ, तर त्यसको रिपोर्ट आउन बाँकी छ,’ उनले भने।

कारागारमा स्वास्थ्य परीक्षणका लागि खटिएका चिकित्सकहरूले सुरुमा भाइरल ज्वरोको आशंका गरेका थिए। तर तीन रोग पुष्टि भएपछि अब त्यसैअनुसार उपचार र व्यवस्थापन अघि बढाइने जेलर सुवासकुमार लामिछानेले जानकारी दिए।

१६ सय क्षमता भएको झुम्का कारागारमा हाल ‘ए’ र ‘बी’ ब्लक गरी १ हजार ७९८ कैदीबन्दी छन्। भीडभाडका कारण रोग फैलन थप सजिलो भएको चिकित्सकहरूले बताएका छन्। अहिले पनि केही कैदीबन्दी विभिन्न अस्पतालमा उपचाररत छन्।

चिकित्सकका अनुसार स्क्रब टाइफस एक सरुवा रोग हो, जुन प्रायः पशुचौपायामा लाग्ने किर्नाजस्तो देखिने किराले (माइट) मानिसलाई टोकेपछि सर्छ। यो रोग ओरेन्सिया सुसुगामुसी नामक जीवाणुबाट लाग्छ, जुन मुसा वा अन्य जनावरको शरीरमा पाइने माइटमा हुन्छ। संक्रमित किराले मानिसलाई टोकेपछि रोग सर्ने गर्छ।

विराट शिक्षण अस्पतालका चिकित्सक डा. देवराज घिमिरेका अनुसार समयमै उपचार नगरे मृत्युको खतरा रहन्छ। ‘यो रोगलाई हल्का लिनु हुँदैन, ढिला उपचार गर्दा ज्यानै जान सक्छ,’ उनले भने।

यस्तै, लामखुट्टेको टोकाइबाट सर्ने डेंगी फोक्सो, नाक र घाँटीसम्म असर पु¥याउन सक्ने घिमिरेले बताए। इन्फ्लुन्जा भने संक्रमित व्यक्तिले हाच्छ्यु गर्दा, खोक्दा वा कुरा गर्दा हावामा फैलने भाइरसका कारण सर्ने गर्छ।

कारागारभित्र रोग फैलनुको मुख्य कारण भीडभाड, सफाइको कमी र स्वास्थ्य सुविधा अभाव भएको विज्ञहरूले बताएका छन्। कैदीबन्दीहरूको भीड व्यवस्थापन, सरसफाइ सुधार र नियमित स्वास्थ्य परीक्षणलाई अब सरकारको प्राथमिकतामा राख्नुपर्ने उनीहरूको सुझाव छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट