विराटनगर भाटभटेनीमा एटिएम फोड्न नसकेपछि आगजनी, पाँचतले स्टोर पूर्णरूपमा जलेर नष्ट
विराटनगर– जेन–जी आन्दोलनको क्रममा विराटनगरस्थित भाटभटेनी सुपरस्टोर मंगलबार साँझ आगलागीबाट पूर्णरूपमा ध्वस्त भएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार आन्दोलनकारीको एउटा समूहले स्टोर परिसरमा लहरै राखिएका विभिन्न बैंकका एटिएम मेसिनहरू फोड्ने प्रयास गरेका थिए। तर, एटिएम फोड्न नसकेपछि असफल समूहले त्यसै एटिएममा आगो लगाइदियो। झोसिएको आगो फैलँदै पाँच तले स्टोरभरि सल्किँदा भित्र रहेका सम्पूर्ण सामान जलेर खरानी बनेका छन्।
जमिनमुनि पार्किङका लागि निर्माण गरिएको भुइँतलामा समेत दनदनी आगो बलिरहेको छ। अन्डरग्राउन्डमा लागेको आगोका कारण वरिपरीको जमिन तातेर फुलेको र केही भाग फुटेर धुवाँ बाहिर निस्किरहेको देखिएको छ।
आगो फैलँदै जाँदा पाँचौं तलासम्मै असर पुगेको छ। ठूलो मात्रामा सामान जलेर नष्ट भएको र अझै पनि आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ। विराटनगर महानगरपालिकाको दमकलसहित सुरक्षाकर्मी परिचालन भए पनि ठूलो आगलागी तत्काल नियन्त्रणमा आउन नसकेको देखिएको छ।
मंगलबार दिनभर सरकारी कार्यालय र सार्वजनिक सम्पत्तिमा तोडफोड गर्दै हिंडेका प्रदर्शनकारीहरू साँझपछि भाटभटेनी सुपरस्टोरमा केन्द्रित भएर लुटपाट र तोडफोडमा उत्रिएका थिए। एटिएम फोड्न नसकेपछि सुरु भएको आगजनीले देशकै ठूलो व्यापारिक संरचनामध्ये एक मानिने भाटभटेनी स्टोर पूर्णरूपमा ध्वस्त भएको छ।
यो घटनाले देशभरका व्यापारी र व्यवसायी समुदायलाई थप त्रासमा पारेको छ।
