सप्तरीमा कर्फ्यु र निषेधाज्ञा हटाइयो

राजविराज– सप्तरी जिल्लामा विगत केही दिनदेखि जारी कर्फ्यु र निषेधाज्ञा शनिबार बिहानदेखि हटाइएको छ। जिल्लाको शान्ति–सुरक्षाको अवस्थालाई मूल्यांकन गर्दै जिल्ला सुरक्षा समितिको भदौ २८ गते बसेको बैठकले सर्वसम्मत रूपमा कर्फ्यु हटाउने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालय सप्तरीले जारी गरेको सूचनामा आज बिहान १० बजेबाट कर्फ्यु र निषेधाज्ञा हटाइएको उल्लेख छ। प्रमुख जिल्ला अधिकारी (सीडीओ) टुवराज पोख्रेलद्वारा जारी सूचनामा भनिएको छ, ‘जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै कर्फ्यु तथा निषेधाज्ञा हटाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको हो।’
सप्तरीमा जेनजी आन्दोलन चर्किएपछि स्थिति नियन्त्रण गर्न प्रशासनले कडा सुरक्षा व्यवस्था गर्दै कर्फ्यु र निषेधाज्ञा जारी गरेको थियो। कफ्र्यूको अवधिमा आवागमन, सभा, प्रदर्शन तथा भीडभाडमा पूर्ण प्रतिबन्ध लगाइएको थियो।
तर पछिल्लो केही दिनयता सुरक्षा स्थिति सामान्य बन्दै गएपछि स्थानीय प्रशासनले कर्फ्यु हटाउने निर्णय गरेको हो। कफ्र्यू हटेसँगै राजविराज लगायतका बजार क्षेत्र सामान्य ढंगले सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले भने नागरिकलाई शान्ति–सुरक्षामा सहयोग गर्न र कुनै पनि गतिविधि शान्तिपूर्ण ढंगले सञ्चालन गर्न आग्रह गरेको छ।