चन्द्रागिरिमा जग्गा विवादले ६८ वर्षीया महिलाको हत्या, आमा–छोरा पक्राउ

काठमाडौँ— काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित खहरे थापागाउँमा ६८ वर्षीया एक महिलाको हत्या भएको छ। सुरुमा सामान्य आपसी झगडा झैं देखिएको घटनाको पछाडि पुरानो जग्गा–जमिनको विवाद रहेको खुलेको हो।
बुधबार बेलुका ६८ वर्षीया पवित्रा केसीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरिएको अवस्थामा फेला पारिएको थियो। प्रारम्भिक अनुसन्धानमै प्रहरीले स्थानीय ३२ वर्षीय सरोज थापालाई पक्राउ गरेको थियो। तर अनुसन्धानलाई अघि बढाउँदा घटनामा उनकी आमा गंगा थापाको संलग्नता पनि पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रहरी वृत्त थानकोटकी डीएसपी एलिजा गिरीका अनुसार मृतक केसी र थापा परिवारबीच लामो समयदेखि जग्गाको सिमाना विवाद थियो। यही विवाद चरम विन्दुमा पुगेपछि आमा–छोराले मिलेर आक्रमण गरेको तथ्य फेला परेको छ। ‘उनीहरूबीच जग्गाको साँध–सीमा विवाद रहेछ,’ डीएसपी गिरीले भनिन्, ‘त्यसकै कारण आक्रोश बढ्दा चिर्पट प्रहार गरी हत्या भएको देखिन्छ।’
घटनास्थलमै लडेर घाइते भएकी केसीलाई उपचारका लागि लगिएको भए पनि उनको मृत्यु भइसकेको थियो। शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
स्थानीयहरूका अनुसार मृतक केसी विगत केही वर्षदेखि माइतीमा घरमै बस्दै आएकी थिइन्। उनी र थापा परिवारबीचको विवाद पटक–पटक गाउँमा छलफलसम्म पुगेको थियो। तर स्थायी समाधान नभएकाले झगडाले हिंस्रक रूप लिएको हो।
हाल आमा–छोरालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ।