ओलीको दाबीः ‘पाँच मिनेट ढिला भएको भए जीवन नै सकिन्थ्यो’
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गतेको घटनाबारे आफ्नो अनुभव सुनाउँदै आफूलाई लक्षित गरी योजनाबद्ध आक्रमण हुने अवस्था बनेको दाबी गरेका छन्। भक्तपुरको गुण्डुमा भेटघाटका क्रममा उनले भने, ‘यसपटक पाँच मिनेट ढिला भएको भए, मार्ने नै थिए। शेरबहादुरजीलाई घाइते बनाउने र मलाई मार्ने खालकै योजना थियो।’
उनका अनुसार प्रदर्शन आकस्मिक नभई, सत्ता पल्टाउने उद्देश्यसहितको सुनियोजित गतिविधि थियो। तर ती घटनाले आफूलाई कुनै पूर्वतयारी गर्न नै नदिएको उनले सुनाए। ‘मैले आफ्नो तयारी पनि गर्न पाइनँ,’ उनले भने। ओलीका अनुसार सुरुवाती चरणमा सुरक्षाकर्मीहरूप्रति विश्वास भए पनि जब भीड हिंसात्मक बन्दै गयो, सुरक्षा संयन्त्रले हात उठाएर केही गर्न नसक्ने बताए।
त्यस्तो बेला अन्ततः नेपाली सेनाले मात्रै हस्तक्षेप गरी आफूलाई उद्धार गरेको उनले स्मरण गरे। उनले भने, ‘अन्तिममा सेनाले भगाइसम्म दियो। त्यहाँबाट निकाल्यो — पाँच मिनेटमै हामी हिँड्यौं।’ त्यसै दिन दिउँसो उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए र सेनाको हेलिकोप्टरमार्फत शिवपुरी पुर्याइएको थियो।
ओलीले यस घटनालाई देशलाई नै जलाउने आपराधिक कृत्यको रूपमा चित्रण गरे। ‘यो महाआपराधिक घटना हो,’ भन्दै उनले पार्टी कार्यकर्तालाई मनोबल कमजोर नपार्न आग्रह गरे। उनका अनुसार, मनोबल कमजोर भएमा षड्यन्त्रकारी तत्वहरू अझ सशक्त हुन्छन्, त्यसैले प्रतिकार उच्च मनोबलसहित गर्नुपर्ने हुन्छ।
तर ओलीले आफ्नै नेतृत्वको कमजोरीलाई पनि स्वीकार गरे। उनले भने, ‘यसपल्ट हाम्रो अलिकति कमजोरी भयो। देशै जलाउने हदसम्म पुग्छ भन्ने हाम्रो कल्पना थिएन।’ यसै प्रसंगमा उनले देशद्रोही र आपराधिक तत्वहरू विभिन्न पद–ओहोदामा प्रवेश गरेको पनि दाबी गरे। ती छद्म तत्वलाई चिनिएको भन्दै आगामी दिनमा नियन्त्रण गरिने उनको भनाइ थियो।
ओलीको यस दाबीले अहिले राजनीतिक वृत्तमा थप तरंग ल्याएको छ। एकातिर उनले आफ्नो जीवनमाथि नै आक्रमणको योजना भएको बताएर सुरक्षा संयन्त्रलाई कठघरामा उभ्याएका छन् भने अर्कोतिर आफ्नै पार्टीको कमजोरी स्वीकार गरेर आत्मालोचना पनि गरेका छन्।
यद्यपि, घटनाको वास्तविकता पुष्टि गर्न विस्तृत अनुसन्धान र पारदर्शी तथ्य बाहिर आउन बाँकी नै छ।
