केपी ओलीका गतिविधि देखिने शंकोचले प्रधानमन्त्री कार्कीले पुराना सामाजिक सञ्जाल नचलाउने, फेसबुक र एक्समा नयाँ अकाउन्ट

काठमाडौँ– सामान्यतः प्रधानमन्त्री पद हस्तान्तरणसँगै सत्ताको लगाम मात्र होइन, सामाजिक सञ्जालको पासवर्ड पनि सरेको मानिन्छ। तर यो पटक परम्परा टुटेको छ। जेनजी आन्दोलनको लहरमा सत्तामा पुगेकी प्रधानमन्त्री सुशीला कार्कीले अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सरकारी’ फेसबुक, एक्स (ट्वीटर) र इन्स्टाग्राम अकाउन्ट प्रयोग गर्न अस्वीकार गर्दै नयाँ अकाउन्ट खोलेकी छिन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव तथा प्रवक्ता रविलाल पन्थले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री कार्कीले अबदेखि सामाजिक सञ्जालमा नयाँ युजरनेम प्रयोग गर्नुहुनेछ।’ अघिल्ला प्रधानमन्त्रीहरूले प्रयोग गर्दै आएको एक्स @PM_nepal का सट्टा कार्कीले अब @pmsushilakarki प्रयोग गर्ने जनाइएको छ।

सरकारको तर्फबाट जारी सूचनाहरू नयाँ ह्याण्डलमार्फत सार्वजनिक गर्न थालिएको छ।

प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार यो प्रधानमन्त्री कार्कीको व्यक्तिगत निर्णय थियो। उनी पुरानो अकाउन्ट प्रयोग गर्न इच्छुक थिइनन्। ‘प्रधानमन्त्रीज्यूले पुरानो अकाउन्ट प्रयोग नगर्ने र नयाँ खोल्ने भन्नुभयो, त्यसैअनुसार गरिएको हो,’ एक अधिकारीले भने।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालका अनुसार, पुरानो अकाउन्ट चलाउँदा अघिल्ला प्रधानमन्त्री ओलीकै गतिविधिहरू र पोस्टहरू देखिने भएकाले नयाँ सुरु गरिएको हो। उनले भने, ‘हामीले नयाँ सुरुवात गर्नुपर्छ भन्ने सोचेका थियौं। अब अर्को सरकारले आएपछि यो अकाउन्ट पनि औपचारिक रूपमा ह्याण्डओभर गरिनेछ।’

खनालका अनुसार, अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले एक्स (ट्वीटर) अकाउन्ट मात्र हस्तान्तरण गरेको छ—त्यो पनि आइतबार मात्रै। फेसबुक र इन्स्टाग्रामको एक्सेस भने अझै कार्कीको टोलीलाई दिइएको छैन। त्यसैले प्रधानमन्त्री कार्कीले ती दुवै प्लेटफर्ममा नयाँ अकाउन्ट खोलेकी हुन्।

अहिले प्रधानमन्त्री कार्यालयसँग दुईवटा एक्स अकाउन्ट @PM_nepal र नयाँ @pmsushilakarki दुवै पहुँचमा छन्। तर कार्कीको सचिवालयका अनुसार, अधिकृत पोस्टहरू नयाँ ह्याण्डलबाटै प्रकाशित हुनेछन्, र आवश्यक परे पुरानो अकाउन्टले ती पोस्टहरू रिट्वीट गर्नेछ।

उनले सरकारका सूचना र सन्देशलाई अघिल्ला प्रधानमन्त्रीहरूको व्यक्तिगत शैलीभन्दा अलग र पारदर्शी बनाउने तयारी गरेकी छन्। उनका सल्लाहकार खनाल भन्छन्, ‘अब सरकारका सामाजिक सञ्जालहरूलाई व्यवस्थित, तथ्यमा आधारित र नागरिकमुखी बनाउन प्राविधिक टोली तयार हुँदैछ।’

अघिल्ला प्रधानमन्त्रीहरूले प्रयोग गर्दै आएको @PM_nepal ह्याण्डल सन् २०१५ मा बनाइएको थियो। त्यसपछि प्रत्येक प्रधानमन्त्रीले सोही अकाउन्टबाट सूचनाहरू प्रवाह गर्ने प्रचलन थियो। तर यो पटक नयाँ प्रधानमन्त्रीले सामाजिक सञ्जालबाटै ‘राजनीतिक स्वतन्त्रता’को घोषणा गरेकी छिन्।

स्रोतका अनुसार, प्रधानमन्त्री कार्कीले अब आफ्ना सबै सरकारी सन्देश, विज्ञप्ति र सार्वजनिक प्रतिक्रिया नयाँ अकाउन्टमार्फत प्रवाह गर्नेछिन—र त्यसलाई आगामी सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गर्ने तयारी समेत छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट