जेन–जी आन्दोलनको अपराधी अनुहारः सिंहदरबारमा राइफल बोकेर पोज लिने सम्राट परियार, ८ मुद्दाका अभियुक्त

काठमाडौँ — सिंहदरबारको मुख्य गेटमा सेल्फ लोडिङ राइफल (एसएलआर) बोकेर पोजिसन लिने व्यक्ति पक्राउ परेपछि जेन–जी आन्दोलनको उग्र र अपराधी पक्ष फेरि सतहमा आएको छ। ललितपुर महानगरपालिका–१३ कुसुन्ती घर भएका ३६ वर्षीय सम्राट परियारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
भदौ २४ मा भएको जेन–जी आन्दोलनको क्रममा परियारले राइफल बोकेर सिंहदरबारमा उच्छृंखल गतिविधि गर्दै उग्र प्रदर्शन गरेको भिडिओ र तस्वीर भाइरल भएको थियो। भिडिओमा उनले टाउकामा क्याप, मुखमा कालो मास्क लगाएका र छातीमा ट्याटु खोपेको देखिन्थ्यो। प्रहरीको प्रारम्भिक अनुसन्धानले उनलाई सिंहदरबारको आगजनी र तोडफोडमा अग्रमोर्चामा रहेको आशंका गरेको छ।
पक्राउ परेपछि परियारले आफूले हतियार नेपाली सेनालाई बुझाएको दाबी गरेका थिए, तर प्रहरीले मोबाइल र अन्य प्रमाण हेर्दा कुनै पुष्टि फेला पारेको छैन। प्रहरीले प्रारम्भिक अनुसन्धान अनुसार परियार आन्दोलनमा सहभागी नभई मौकामा उच्छृंखल गतिविधिमा लागेको हुनसक्ने देखाएको छ।
परियारविरुद्ध ८ वटा आपराधिक मुद्दा दर्ता छन्। यसमा दुईवटा ज्यान मार्ने उद्योग, ठगी, बैंकिङ कसुर, अभद्र व्यवहार र लाइसेन्सको नाममा ठगीसम्बन्धी मुद्दा समावेश छन्। प्रहरी अधिकारीहरूका अनुसार, जेन–जी आन्दोलन जस्तो सामाजिक–राजनीतिक आन्दोलनमा यस्ता आपराधिक पृष्ठभूमिका व्यक्तिहरूको संलग्नता सार्वजनिक सुरक्षा र आन्दोलनको नैतिकताका लागि ठूलो खतरा हो।
अपराध अनुसन्धान कार्यालयले परियारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा जिम्मा लगाएको छ। प्रहरी स्रोतले बताए अनुसार यस्ता गतिविधि गर्ने व्यक्तिको हातमा जेन–जी जस्ता आन्दोलनको ढाकछोपले अपराध बढाउन सक्ने सम्भावना छ।