काठमाडौँमा श्रीलंकन अन्डरवर्ल्डको ‘माफिया क्विन’ पक्राउः अदालतभित्र गोली चलाउने सुटरकी सहयोगी इशारा सिउवान्डीसहित ६ जनालाई डिपोर्ट

काठमाडौं — कोलम्बोको अदालत परिसरभित्रै श्रीलंकन अन्डरवल्र्डका नाइके गणेमुल्ला सञ्जीवाको गोली हानी हत्या गर्ने योजनामा संलग्न ‘मुख्य महिला’ इशारा सिउवान्डी काठमाडौँमा पक्राउ परेकी छिन्। नेपाल प्रहरीको इन्टरपोल शाखाले श्रीलंकन प्रहरीसँगको संयुक्त अपरेसनमा सोमबार राति भक्तपुरबाट उनलाई पाँच जना सहयोगीसहित पक्राउ गरेको हो।
नेपाल प्रहरीका अनुसार, पक्राउ परेकाहरूमा २६ वर्षीया इशारा सिउवान्डी, ४९ वर्षीय दिनेश निकान्थ र दिनेश श्यामान्था, ३३ वर्षीय जीवथासन कनाकरासा, ३५ वर्षीया केनेडी बस्टिम्पिल्लै तथा २३ वर्षीय ठाक्सी नन्थाकुमार छन्। यी सबै श्रीलंकाका फरार अपराधी हुन्, जसविरुद्ध इन्टरपोलको रेड नोटिस जारी गरिएको थियो।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार, यी अपराधीहरू भिसा विना अवैध रूपमा नेपाल प्रवेश गरी लुकेर बसिरहेका थिए। ‘अध्यागमन विभागले जरिवाना गरेर सबैलाई श्रीलंका फिर्ता पठाइएको छ,’ उनले भने।
गत फेब्रुअरी १९ मा श्रीलंकाको राजधानी कोलम्बोस्थित हल्फ्सडोर्प कोर्ट कम्प्लेक्सभित्र अन्डरवल्र्ड नाइके गणेमुल्ला सञ्जीवाको गोली हानी हत्या गरिएको थियो। अदालतभित्रै भएको उक्त घटनाले श्रीलंकन प्रशासन हल्लाएको थियो। गोली चलाउने व्यक्ति शमिन्दु दिलशन पियुमांगा त्यहीँ पक्राउ परे पनि, योजनाको जालमा इशारा सिउवान्डीको भूमिका मुख्य देखिएको थियो।
सिसिटिभी फुटेजमा सिउवान्डीले एउटा किताबभित्र पेस्तोल लुकाएर अदालतभित्र पु¥याउँदै गरेको देखिन्छ। यही पेस्तोल प्रयोग गरेर सञ्जीवाको हत्या गरिएको श्रीलंकन प्रहरीले जनाएको छ।
हत्या पछि उनी फरार भइ भारत हुँदै नेपाल छिरेकी थिइन्। स्रोतका अनुसार, भारत पुग्न मात्रै उनले करिब ६५ लाख श्रीलंकन रूपी खर्च गरेकी थिइन्। भारतमा ‘जेके भाइ’ नामका मानव तस्करको सहयोगमा डुंगा चढेर पुगेकी उनी त्यहाँ करिब तीन हप्ता बसिन् र त्यसपछि बस र रेलमार्ग हुँदै नेपाल आइपुगेकी थिइन्। नेपालमा उनी भक्तपुर र काठमाडौंका विभिन्न स्थानमा सेल्टर लिएर बस्दै आएकी थिइन्।
नेपाल प्रहरीको इन्टरपोल नेसनल सेन्ट्रल ब्युरो (एनसीबी), अध्यागमन विभाग र काठमाडौंस्थित श्रीलंकन दूतावासबीचको समन्वयमा अपरेसन चलाइएको थियो। प्रहरी स्रोतका अनुसार, ती अपराधीहरू भक्तपुरको एउटा रेसिडेन्सियल भवनमा महंगो भाडा तिरेर बस्दै आएका थिए।
उनीहरूलाई नियन्त्रणमा लिएपछि अध्यागमन विभागले मंगलबार जरिवाना गर्ने निर्णय ग¥यो र बुधबार दिउँसो करिब १ः४५ बजेको फ्लाइटमार्फत श्रीलंका पठायो। विभागीय स्रोतका अनुसार, उनीहरूले नेपालमा करिब एक महिना मात्र बिताएका थिए।
श्रीलंकाको अन्डरवल्र्डको पृष्ठभूमि
इशारा सिउवान्डी र उनका साथीहरू श्रीलंकाको कुख्यात अन्डरवल्र्ड गिरोह केहेलबड्डरा पद्मा समूहका सदस्य हुन्। यो गिरोहले मलेसिया, दुबई र दक्षिण एसियाका विभिन्न देशमा लागूऔषध तस्करी, अपहरण र हत्याको सुपारी लिने काम गर्दै आएको थियो।
त्यस समूहका प्रमुख पद्मालाई गत २५ अगस्टमा इन्डोनेसियाबाट पक्राउ गरिएको थियो। श्रीलंकन प्रहरीले सञ्जीवाको हत्याको मुख्य योजनाकार पनि यही पद्मा भएको बताउँदै आएको छ। श्रीलंकन प्रहरीले सिउवान्डीबारे सूचना दिने व्यक्तिलाई १२ लाख श्रीलंकन रूपी पुरस्कार समेत घोषणा गरेको थियो।