सप्तरीका डीएसपीलाई गालीगलौज गरेको आरोपमा युट्युबर मनोज मानव फेरि पक्राउ

राजविराज— प्रहरीलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको आरोपमा युट्युबर मनोज मानव भनिने मनोज महतो फेरि पक्राउ परेका छन्। सिरहाको लहान नगरपालिका–२४ घर भएका ३८ वर्षीय महतो हाल काठमाडौँको कीर्तिपुरमा बस्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सोमबार महतोले प्रहरी कन्ट्रोल नम्बर १०० मा फोन गरेर ड्युटीमा खटिएका प्रहरी अधिकृतलाई हप्कीदप्की गर्दै अपशब्द प्रयोग गरेका थिए। उनले त्यतिमै सीमित नभई जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बर बहादुर पुरीलाई समेत फोन गरी गालीगलौज गरेका थिए।

एसपी गौतम कुमार केसीका अनुसार, पक्राउ परेका महतोमाथि अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। उनलाई मङ्गलबार साँझ राजविराजबाट नियन्त्रणमा लिएर सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको एसपी केसीले बताए।

महतो यसअघि पनि पटक–पटक विभिन्न आपराधिक मुद्दामा पक्राउ परेका थिए। उनले विद्युतीय कारोबार, अपहरण, शरीर बन्धक र सार्वजनिक अपराधजस्ता विभिन्न मुद्दामा संलग्नता रहेको प्रहरीको दाबी छ।

प्रहरीका अभिलेखअनुसार, महतो २०७४ असोज २२ गते सिरहामा सार्वजनिक अपराधको अभियोगमा, २०८० माघ १२ गते, २०८० कात्तिक २१ गते र २०८१ पुस २० गते साइबर ब्युरोद्वारा साइबर अपराध मुद्दामा, र २०८२ जेठ २८ गते ज्यानसम्बन्धी मुद्दामा काठमाडौँ प्रहरीद्वारा पक्राउ परिसकेका छन्।

यो पटक उनले प्रहरीलाई प्रत्यक्ष रूपमा हप्काउने र गाली गर्ने काम गरेपछि फेरि पक्राउ परेका हुन्। अहिले उनलाई सप्तरी प्रहरीले हिरासतमा राखी थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट