जेन–जी आन्दोलनको कुरुपताः हिरासतबाट फरार भएका पूर्णबहादुरले प्रहरीकै हतियार खोसेर आतंक मच्चाए

पोखरा — जेन–जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते पोखरामा सुरु भएको हिंसात्मक घटनापछि कास्की प्रहरीले ‘अपरेसन ३६५’ नामक विशेष अभियान सुरु गरेको छ। आन्दोलनका नाममा प्रहरी कार्यालय जलाउने, हतियार लुट्ने र अराजकता मच्चाउनेमाथि प्रहरीले सख्त निगरानी राख्दै तीमध्ये धेरैलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी प्रमुख एसपी नवीन कार्कीको नेतृत्वमा सुरु गरिएको ‘अपरेसन ३६५’ को उद्देश्य प्रहरी कार्यालय जलाउने, हतियार लुट्ने र समाजमा आतंक मच्चाउनेमाथि कानुनी कारबाही गर्नु रहेको बताइएको छ।

भदौ २४ गतेको घटनामा वडा प्रहरी कार्यालय बगर आन्दोलनकारीको पहिलो निसाना बनेको थियो। सो दिन कार्यालयमा तोडफोड, आगजनी र प्रहरीका केही हतियार समेत लुटिएका थिए। कास्कीमा मात्रै २७ वटा प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको छ। १ सय १६ सरकारी कार्यालय र २७ निजी सम्पत्तिमा क्षति पुगेको प्रहरी तथ्यांक छ।

सरकारी सम्पत्तिमा सवा २ करोड रुपैयाँ बराबरको क्षति पुगेको र निजी क्षेत्रले करिब साढे ३ अर्बको नोक्सानी भएको दाबी गरिएको छ। कास्की कारागारबाट ७ सय ६५ जना कैदीबन्दी फरार भएका थिए। तीमध्ये ८७ जना पुनः पक्राउ परेका छन् भने करिब २०० अझै फरार छन्।

त्यही बेला भदौ १० गतेदेखि अभद्र व्यवहार मुद्दामा हिरासतमा रहेका अन्नपूर्ण–५, नयाँ पुलका ४२ वर्षीय पूर्णबहादुर नेपालीसहितका थुनुवा पनि आन्दोलनकै मौका छोपेर फरार भएका थिए। प्रहरीका अनुसार भिडियो फुटेजमा उनले नयाँ पुल चौकीबाट हतियार लुटेको देखिन्छ। उनीमाथि आपराधिक उपद्रव मुद्दा दर्ता गरिएको छ।

त्यसपछि दिउँसो करिब १२ बजेदेखि सुरु भएको सरकारी कार्यालय जलाउने श्रृंखला पोखरा महानगरपालिकाको कार्यालयदेखि हुँदै अन्ततः जिल्ला प्रहरी कार्यालय कास्कीमा पुग्यो। आन्दोलनकारी डोजर र लोडरसहित कार्यालय परिसरमा प्रवेश गरी तोडफोड र आगजनीमा उत्रिँदा प्रहरीले बल प्रयोग गर्दै गोली चलाउनुपरेको थियो। त्यही क्रममा डोजर चालक लक्ष्मण नेपालीलाई गोली लागेर गम्भीर घाइते भएका थिए। उक्त घटनामा कार्यालयका अभिलेख, दस्तावेज र हतियार जलेर नष्ट भए।

यि सम्पूर्ण घट्नामा संलग्नहरु मध्ये धादिङको त्रिपुरासुन्दरी–४ घर भई पोखरा मानवअधिकार चोक बस्ने राजेश मक्रान्तीलाई प्रहरीले कास्की प्रहरी कार्यालय जलाउन मुख्य भूमिका खेलेको आरोपमा पक्राउ गरेको छ। मक्रान्ती यसअघि २०७९ सालमा अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए।

त्यस्तै, पोखरामा मासुको व्यापार गर्दै आएका ५४ वर्षीय नारायण राई प्रहरी कार्यालय जलाउनेमा संलग्न रहेको प्रहरीले जनाएको छ। पोखरा–१ कसेरीका रुपेश सुनार, जसले २०६२ सालमा सार्वजनिक अपराध मुद्दा खेपेका थिए, बगर प्रहरी कार्यालय तोडफोड र आगजनीमा संलग्न रहेको प्रमाण फेला परेको बताइएको छ। त्यसैगरी, पोखरा–१ बगरका ४३ वर्षीय दिपु राईलाई पनि प्रहरी कार्यालय जलाउने, हतियार लुट्ने र जलाउने अभियोगमा पक्राउ गरिएको छ।

प्रहरीले आन्दोलनका क्रममा तोडफोड, आगजनी र हतियार लुट्ने अभियोगमा क्रमशः पक्राउ अभियान तिव्र पारेको छ। हालसम्म १८ जना पक्राउ परेका छन्, तीमध्ये १० जनामाथि आपराधिक उपद्रव मुद्दा दर्ता गरी म्याद थपिएको छ भने बाँकीलाई धरौटीमा रिहा गरिएको छ।

प्रहरीले घटनाका फोटो, भिडियो र मोबाइलजस्ता डिजिटल प्रमाणका आधारमा संलग्न व्यक्तिहरूको पहिचान गरिरहेको छ। घटनामा प्रयोग भएका प्रहरीका पोशाक, गहना, मोबाइल र करिब दुई दर्जन हतियार अझै बेपत्ता रहेको प्रहरी स्रोतको भनाइ छ।

एसपी कार्कीका अनुसार आन्दोलनपछि अराजक समूह सक्रिय बनेका थिए। तीमध्ये अधिकांश व्यक्ति पहिले नै कुनै न कुनै मुद्दामा पक्राउ भइसकेका, हिरासतबाट भागेका वा दुव्र्यसनीमा फसेका थिए। ‘प्रहरी कार्यालय जलाउने र हातहतियार लुटेर नचाउँदै हिँड्ने कार्य आन्दोलन होइन, विशुद्ध आपराधिक क्रियाकलाप हो,’ उनले भने–‘नागरिकका निजी घरमा आगजनी र लुटपाट गर्नु पनि त्यसै श्रेणीमा पर्छ।’

प्रहरीले हाल नागरिक तहबाट जाहेरी, निवेदन र प्रमाण संकलन गर्दै अराजक क्रियाकलापमा संलग्नहरूको पहिचान अघि बढाएको छ। कार्कीका अनुसार आन्दोलनका नाममा भएको आपराधिक गतिविधि र वास्तविक नागरिक आन्दोलन छुट्याएर मात्रै कारबाही अघि बढाइनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट