जाँचबुझ आयोगका सदस्यलाई सुदुरपश्चिमका पूर्वमुख्यमन्त्रीले ‘अपराधी’ भन्दै थर्काएर पठाए, कार्यक्रममा भाँडभैलो

कैलाली — जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिनका लागि विहिबार कञ्चनपुर पुगेको जाँचबुझ आयोगको टोलीका सदस्यलाई सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावलले ‘अपराधी’ भन्दै थर्काएका छन्।

आयोगका सदस्य विश्वेश्वर प्रसाद भण्डारी र रावलका विचमा तीव्र वाकयुद्ध नै चलेको थियो। रावलले आयोगका सदस्यलाई ‘अपराधी’ शब्द प्रयोग गर्दै खुलेआम थर्काए। भण्डारी नेतृत्वको आयोगको टोलीले बिहानैदेखि जिल्लामा क्षतिग्रस्त संरचनाहरूको अवलोकन गर्दै थियो। सो क्रममा टोली पूर्वमुख्यमन्त्री रावलको घरसमेत पुग्यो। जहाँ गत भदौ २४ गते आन्दोलनकै क्रममा तोडफोड, लुटपाट र आगजनी भएको थियो। रावल त्यहीँ उपस्थित थिए, तर उनको टोलीसँग कुराकानी भएन।

दिउँसो भीमदत्त नगरपालिका कार्यालयमा सर्वदलीय छलफल सुरु हुनै लाग्दा रावल आकस्मिक रूपमा कार्यक्रमस्थलमा प्रवेश गरे। ‘जाँचबुझ आयोगको नाममा घाउमाथि नुन छर्किएको छ,’ उनले मञ्चमा बसेका भण्डारीलाई लक्षित गर्दै आक्रोश पोखे। ‘तपाईंहरू बोक्सी पनि आफैं धामी पनि आफै बन्न खोज्दै हुनुहुन्छ।’– उनले भने।

आयोगका सदस्यले प्रतिवाद गर्न खोजे पनि रावल झन् उग्र बने। ‘हु आर यू? पार्टी कार्यालय जलाउने, जनताको सम्पत्ति नष्ट गर्नेहरूलाई कारबाही नगर्ने? तपाईंहरू राज्यको कोषको दुरुपयोग गर्ने जनविरोधी मान्छे हौँ,’ भन्दै उनी मंचमै पुगे र भण्डारीमाथि औला ठड्याउँदै चर्को स्वरमा चिच्याए।

उनले थपे, ‘मेरो बालबच्चाको हालत देख्नु भएको छैन? मेरो घर जलाइयो, पार्टी कार्यालय जलाइयो, अनि यहाँ तमासा देखाउन आउनुभएको?’ उनको आरोप अनुसार, आयोगमा जेनजी आन्दोलनका समर्थकहरू सहभागी भएकाले निष्पक्षता सम्भव छैन।

‘सिंहदरबार जलाउन उक्साउनेहरू आयोगमा छन्,’ कार्यक्रम बहिष्कार गर्दै बाहिरिँदा रावलले पत्रकारहरूसँग भने, ‘स्वतन्त्र व्यक्तिहरूबाट नयाँ आयोग बनाउनुपर्छ। यो आयोग नियतवश बनेको हो, यसबाट न्याय पाइन्नँ।’

रावलको उग्र भाषणपछि एमालेका जनप्रतिनिधि र केही स्थानीय अधिकारीहरूले बैठक बहिष्कार गरे। कांग्रेसका जिल्ला सभापति समेत रहेका भीमदत्त नगर प्रमुख समेत बैठकमा उपस्थित भएनन्। जिल्ला समन्वय समितिद्वारा आयोजना गरिएको बैठक ढिलो गरी साढे ३ बजे सुरु भए पनि, त्यतिबेलासम्म सहभागीहरूको ठूलो हिस्सा फर्किइसकेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट