मुम्बईको स्टुडियोमा १७ बालबालिका बन्धक बनाउने रोहित आर्यको सुटआउटमा मृत्यु, ठेक्का रकम नपाएको रिसमा घटना

काठमाडौँ— भारतको आर्थिक राजधानी मुम्बईको व्यस्त पवई–मरोल क्षेत्रमा बिहीबार दिउँसो एकजना व्यक्तिले १७ जना बालबालिकालाई बन्धक बनाएपछि ठूलो हंगामा मच्चिएको छ। प्रहरीको तत्कालीन कारबाहीपछि सबै बालबालिकाको सुरक्षित उद्धार गरिँदा अपहरणकर्ता रोहित आर्यको मृत्यु भएको छ।

पुणे निवासी ४२ वर्षीय व्यवसायी रोहित आर्यले बिहीबार दिउँसो करिब ३ बजेतिर महावीर क्लासिक बिल्डिङ परिसरभित्र रहेको एउटा निजी स्टुडियोमा बालबालिकालाई अडिसनको नाममा बोलाएका थिए। उनी भित्र पसिसकेपछि ढोका बन्द गरेर सबैलाई बन्धक बनाएका थिए। सो बेला स्टुडियोभित्र १७ जना बालबालिका र केही वयस्क उपस्थित थिए।

स्थानीयले झ्यालबाट बालबालिकाहरू चिच्याउँदै सहयोग मागिरहेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। मुम्बई प्रहरीले घटनास्थल पुगेर सम्पूर्ण क्षेत्रलाई घेरा हाल्दै उद्धार अभियान थालेको थियो। करिब पौने दुई घण्टासम्म रोहितसँग वार्ता चलाइयो। तर उनले ढोका खोल्न अस्वीकार गर्दै बारम्बार आक्रामक व्यवहार देखाए।

प्रहरी उपप्रमुख दत्ता नलावडेका अनुसार अपहरणकर्ताले वार्ताका क्रममा केही मागहरू राखेका थिए, तर ती स्पष्ट थिएनन्। ‘उनले ठेक्का रकम नपाएको रिसमा यस्तो कदम चालेको देखिन्छ,’ नलावडेले पत्रकारसँग भने, ‘हामीले स्थिति नियन्त्रणमा लिन बाथरूमको झ्यालबाट स्टुडियोभित्र प्रवेश गरेर अपरेसन गर्नुप¥यो।’

प्रहरी कारबाहीका क्रममा रोहित आर्य घाइते भए र उनलाई तुरुन्तै अस्पताल लगियो। उपचारका क्रममा उनको मृत्यु भएको बीबीसीले जनाएको छ। उद्धार गरिएका सबै बालबालिका र एक महिला सुरक्षित छन्। उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको मुम्बई प्रहरीले पुष्टि गरेको छ।

प्रहरीले घटनास्थलबाट एकवटा एयरगन र केही रासायनिक पदार्थ पनि बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानका अनुसार रोहित आर्या केही वर्षदेखि ठेक्कापट्टिको व्यवसायमा संलग्न थिए। महाराष्ट्रका तत्कालीन शिक्षामन्त्री दीपक केसरकरको कार्यकालमा उनले एउटा विद्यालय पुनर्निर्माणको ठेक्का पाएका थिए। तर काम पूरा गरे पनि रकम नपाएको गुनासो गर्दै उनले विगतमा केसरकरको घरअगाडि बारम्बार विरोध प्रदर्शन गरेका थिए।

‘मैले व्यक्तिगत रूपमा उनको सहयोग गरेको थिएँ,’ केसरकरले भारतीय सञ्चारमाध्यमहरूसँग प्रतिक्रिया दिँदै भने, ‘सरकारी प्रक्रिया पूरा नगरी भुक्तानी गर्न सकिँदैन। उनले दाबी गर्ने दुई करोड रुपैयाँ बक्यौता थियो भन्ने कुरा गलत हो।’

बीबीसी र मुम्बई प्रहरीका अनुसार यो घटना एक निराश व्यवसायीले आर्थिक अन्यायको आक्रोशमा गरेका असामान्य कदमको परिणाम हो। मुम्बई प्रहरीले घटनाको सम्पूर्ण पक्षबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट