जेनजी आन्दोलनमा कारागारबाट भागेका ट्याक्सी चालक फेरी प्रहरी कार्यालय लुटपाटमा संलग्न
 
													पोखरा— पोखरामा ज्यान मार्ने उद्योगको आरोपमा पुर्पक्षका लागि कारागार चलान भएका ट्याक्सी चालक विवश जलारी पुनः प्रहरी कार्यालय लुटपाटमा संलग्न रहेको खुलासा भएको छ। जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका जलारीलाई प्रहरीले बिहीबार पोखराको घारीपाटनबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विवश जलारीले दुई महिनाअघि ट्याक्सी र मोटरसाइकल ठोक्किएपछि सुरु भएको विवादका क्रममा आक्रमण गरी एक व्यक्तिलाई गम्भीर घाइते बनाएका थिए। क्षतिपूर्ति दिने भन्दै मोटरसाइकल चालकलाई बोलाएर अन्य व्यक्तिसहित कुटपिट गरेपछि उनलाई ज्यान मार्ने उद्योगको मुद्दामा अदालतले पुर्पक्षका लागि जेल पठाएको थियो।
तर, जेल चलान भएको करिब २५ दिनपछि विवश ‘जेनजी आन्दोलन’ का बेला अन्य कैदीहरूसँगै कारागारबाट भागेका थिए। फरार भएपछि उनी प्रहरी कार्यालयमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको प्रमाण प्रहरीले फेला पारेको छ।
प्रहरीका अनुसार विवशले प्रहरी कार्यालयबाट मोटरसाइकल र डिजिटल क्यामेरा समेत चोरी गरेका थिए। उक्त घटनामा उनले ‘एनएस’ नम्बरको मोटरसाइकल प्रयोग गरेको र सोही मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको डीएसपी हरिबहादुर बस्नेतले बताए।
‘विवश जलारीले क्षतिपूर्ति दिने भन्दै बोलाएर आक्रमण गरेका थिए। पछि जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमै तोडफोड र लुटपाटमा संलग्न भएको पुष्टि भएको छ,’ डीएसपी बस्नेतले भने।
कास्कीमा असोज २४ गते भएको आन्दोलनका क्रममा प्रहरी कार्यालय र मातहतका २७ कार्यालयमा आगजनी र तोडफोड भएको थियो। ती कार्यालय अहिले नागरिकको सहयोगमा सञ्चालनमा आएका छन्। हालसम्म प्रहरीले ती घटनासँग सम्बन्धित २९ जनालाई पक्राउ गरेको छ, जसमा ११ जनामाथि मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विवश जलारीमाथि हाल लुटपाट र उपद्रवसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान जारी छ। सो मुद्दा टुंगिएपछि पुरानो ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा उनलाई पुनः कारागार चलान गरिने तयारी भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय स्रोतहरूका अनुसार जलारी लामो समयदेखि ट्याक्सी व्यवसायमा संलग्न थिए र आन्दोलनपछि पनि उनले विभिन्न स्थानमा अपराधजन्य गतिविधि दोहोर्याइरहेका थिए। प्रहरीले हाल अन्य सरकारी संरचना तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड गर्नेहरूलाई पनि पक्राउ गर्ने तयारी गरेको छ।

 शीर्ष खबर
								शीर्ष खबर 							
 
  
  
  
  
  
  
 