जेन्जी आन्दोलनमा लुटिएको प्रहरीको पेस्तोल १लाखमा बिक्रीः पाँच जना पक्राउ, कपडा पसलमा हतियार फेला

काठमाडौँ— भदौ २४ को जेन्जी आन्दोलनको क्रममा विभिन्न प्रहरी वृत्तमा भएको आगजनी र तोडफोडको क्रममा लुटिएका हतियार सम्बन्धी अनुसन्धानले नयाँ रहस्य उजागर गरेको छ। प्रहरीले लुटिएको पेस्तोल पटक–पटक बिक्री भईसकेको फेला पारेको छ। जसमध्ये पाँच जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, प्रहरीले प्रहरी वृत्त स्वयम्भूबाट सुरु गरेको अनुसन्धानमा एउटा पेस्तोल र १५ गोलीसहित पाँचजनालाई पक्राउ गरेको हो। अनुसन्धानबाट खुल्दै आएको तथ्य अनुसार, लुटिएको पेस्तोल विभिन्न व्यक्तिबाट क्रमशः बिक्री वितरण गरिएको थियो।

भाद्र २४ गते आन्दोलनपछि काठमाडौंका वृत्तमा भएका आगजनी र तोडफोडका क्रममा लुटिएका हतियारमध्ये धादिङका कृष्ण गुरूङ र काठमाडौँका राजन देउलाले पेस्तोल र गोली लुटेको पाइएको छ। नियन्त्रणपछि उनीहरूले उक्त हतियार अरू व्यक्तिलाई बिक्री गरेको खुलेको छ।

पक्राउ पर्ने क्रममा हतियार भारतको विहार घर भएका अकबर खानलाई दिइएको जानकारी प्रहरीले पायो। अकबरलाई पनि प्रहरीले पक्राउ गर्यो तर, उनीसँग पनि पेस्तोल फेला परेन। उनले त्यसलाई काठमाडौं–१५ का २६ वर्षीय सुमिन शाक्यलाई ६० हजार रुपैयाँमा बिक्री गरेको बताएका थिए।

सुमिनले पेस्तोल फेरि बानेश्वरका ३८ वर्षीय कपडा पसले प्रभात मल्ललाई एक लाख रुपैयाँमा बिक्री गरेको खुलासा भएको छ। प्रहरीले मल्लको कपडा पसलमा छापा मारेर तलासी लिँदा पसलको चेन्जिङ रूमभित्र पेस्तोल र गोली राखिएको फेला परेको छ।

प्रहरीले पक्राउ परेका सबै व्यक्तिहरूलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि उनीहरूलाई ६ दिनको म्याद दिएको छ।

एसपी भट्टराईका अनुसार, ‘यस अनुसन्धानले जेन्जी आन्दोलनको क्रममा लुटिएका हतियारहरूको अवैध बिक्री र वितरणको जटिल श्रृंखला पत्ता लागेको छ। प्रहरी सबै कानुनी प्रक्रियाअनुसार कारबाही अघि बढाइरहेको छ।’

यो अनुसन्धानले काठमाडौंमा जेन्जी आन्दोलनको समयमा लुटिएका हतियार र त्यसको अवैध कारोबारको गम्भीर पक्षलाई उजागर गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट