पार्टी एकता अस्वीकार गर्दै माओवादी छोडेका जनार्दनलाई भाइ र बहिनीले पनि दिएनन् साथ
													काठमाडौँ — नेकपा (माओवादी केन्द्र)भित्रको वाम एकता प्रस्तावले पार्टी मात्र होइन, नेताहरूका परिवारसमेत विभाजित बनाएको छ। पार्टी एकताको विरोध गर्दै माओवादी केन्द्र छोडेका पूर्व उपमहासचिव जनार्दन शर्मालाई आफ्नै भाइ र बहिनीले समेत साथ दिएनन्।
शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकले नेकपा (एकीकृत समाजवादी) लगायत आठ वामपन्थी समूहसँग एकता गर्ने एजेन्डा बहुमतले पारित गरेको थियो। बैठकमा समितिका नेता नारायणकाजी श्रेष्ठले एकताको प्रस्ताव प्रस्तुत गरेपछि सदस्यहरूले ताली बजाएर अनुमोदन गरे। तर जनार्दन शर्मा भने बैठकमा अनुपस्थित रहे।
त्यो बैठकमा उनका भाइ ओपेन्द्र शर्मा र बहिनी नारायणी शर्मा भने सहभागी भएका थिए। यसले पार्टीसँगै जनार्दनको परिवारभित्र पनि वैचारिक मतभेद सार्वजनिक भएको देखाएको छ।
यता, जनार्दनले प्रचण्ड नेतृत्वको वाम एकतालाई ‘माधवकुमार नेपालको नीतिमा आत्मसमर्पण’ भन्दै अस्वीकार गरेका छन्। उनले ललितपुरमा आयोजित छुट्टै पत्रकार सम्मेलनमा भने, ‘अध्यक्ष प्रचण्डले माओवादी पार्टी छाडेर माधव नेपालको नीतिमा आत्मसमर्पण गर्नुभयो। हामीले त्यो स्वीकार गरेका छैनौं।’
उनका अनुसार, पार्टीभित्र प्रतिस्पर्धा, विधि र पद्धति अन्त्य गर्न खोजिएको छ। ‘महाधिवेशन आयोजक समितिले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर एकताको नाटक गरेको छ,’ उनले भने।
तर उनका आफ्नै भाइ र बहिनी भने प्रचण्डको पक्षमा खुलेका छन्। उनीहरूले माओवादी केन्द्रको एकतालाई ‘कम्युनिष्ट आन्दोलनको पुनर्संयोजन’ भन्दै समर्थन गरेका छन्।
एकताको विरोध गर्दै जनार्दन शर्मा, राम कार्की र अन्जना विशंखेले छुट्टै ‘एकीकृत समाजवादी अभियान’ सुरु गर्ने घोषणा गरेका छन्। ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता कार्कीले समाजवादी विचारधारामा विश्वास गर्ने सबैलाई ‘दज्र्यानी चिह्न फ्याँकेर एउटै आन्दोलनमा जोडिन’ आह्वान गरे।
उनले जनार्दनलाई देखाउँदै भने, ‘हामीले उपमहासचिव, सचिव, स्थायी समिति सदस्यजस्ता पद फ्याँकेर आएका हौं। अब सबै सच्चा समाजवादी, जनवादी र देशभक्तहरू एउटै अभियानमा आउनुपर्छ।’
माओवादी केन्द्रभित्र सुरु भएको यो असन्तुष्ट ध्रुव राम कार्की, जनार्दन शर्मा र अन्जना विशंखेलाई केन्द्रमा राखेर अघि बढ्ने तयारीमा छ। उनीहरू नेकपा (एकीकृत समाजवादी)भित्रका असन्तुष्ट नेता झलनाथ खनाल र घनश्याम भूसालसँग पनि समन्वयमा छन्। साथै, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टी नेपालसँग वाम मोर्चा गठनबारे छलफल भइरहेको स्रोतले जनाएको छ।

