ज्युँदै मान्छे इटाभट्टामा पोलेर मारेको आरोप लागेका पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन

काठमाडौँ— नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ। ६३ वर्षीय आलमको शनिबार बिहान ३ बजेतिर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।

उच्च रक्तचाप, मधुमेह (सुगर) लगायतका पुराना स्वास्थ्य समस्या देखिएपछि उनलाई करिब एक महिनाअघि अस्पताल भर्ना गरिएको थियो। पछिल्लो सातादेखि अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो।

आलमको शव आज बिहान एम्बुलेन्समार्फत गृहजिल्ला रौतहटको राजपुर लगिएको छ, जहाँ उनको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। आलमका छोरा डा. राजिक आलमका अनुसार, डेढ महिना अघि भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारपछि सुधार देखिएको थियो। तर केही समयपछि स्वास्थ्य पुनः बिग्रँदा उनलाई पुनः काठमाडौं मेडिकल कलेज (केएमसी) भर्ना गरिएको थियो।

गत जेठ १४ गते नख्खु कारागारबाट रिहा भएको केही दिनमै आलमलाई मस्तिष्कघात भएपछि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गरिएको थियो। त्यसपछि उनी केही समय विश्राम गरे पनि स्वास्थ्य अवस्था फेरि जटिल बन्दै गएको थियो।

बम विस्फोट मुद्दाबाट सफाइपछि छुटेका थिए
२०६४ साल चैत २७ गतेको पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएका दुई जनालाई इँटाभट्टामा जलाएर हत्या गरेको अभियोगमा आलमसहित चार जनालाई जन्मकैदको सजाय दिइएको थियो।

तर गत जेठ १४ गते उच्च अदालत जनकपुर, वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै आलमसहित चारै जनालाई सफाइ दिएको थियो।

त्यसपछि उनी भाइ महताब आलमसहित नख्खु कारागारबाट छुटेका थिए। झण्डै ६ वर्ष जेल जीवन बिताएका आलम नख्खुबाट बाहिरिएको केही दिनमै मस्तिष्कघातबाट पीडित बनेका थिए।

राजनीतिक यात्रा
मोहम्मद अफताव आलमको राजनीतिक यात्रा २०३६ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुरु भएको थियो। आफ्ना काका शेख ईद्रिसको प्रेरणामा राजनीतिमा होमिएका उनी ०३९ सालमा नेविसंघ रौतहटको जिल्ला अध्यक्ष बने।

२०४२ सालको सत्याग्रह आन्दोलनमा उनी गौर जेल परेका थिए। त्यसपछि २०४५ सालमा कांग्रेसको जिल्ला सभापति बने र २०५१ सालको उपनिर्वाचनमा पहिलोपटक सांसदमा निर्वाचित भए।

त्यसपछि बनेका कांग्रेस सरकारहरूमा उनले विभिन्न जिम्मेवारी सम्हाले। २०५४ सालमा श्रम राज्यमन्त्री, २०५५ सालमा वन राज्यमन्त्री, २०५६ सालमा स्थानीय विकास राज्यमन्त्री, र पछि भूमिसुधार मन्त्री समेत बने।

२०६४ सालको संविधानसभा निर्वाचनमा पुनः विजयी भएका आलम तत्कालीन एमाले नेता माधवकुमार नेपालको सरकारमा श्रम तथा यातायात मन्त्री बनेका थिए। २०६७ सालमा उनले कांग्रेसका केन्द्रीय सदस्य पदमा पनि जित हासिल गरे।

रौतहटको राजपुरलाई नेपाली कांग्रेसको ‘राजनीतिक उर्वर भूमि’ मानिन्छ। सो क्षेत्रमा आलम लगातार चार पटक जनप्रतिनिधि बनेका थिए। दोस्रो संविधानसभा निर्वाचनमा आफ्नै भान्जा मुस्ताक राजासँग पराजित भए पनि २०७४ मा पुनः चुनाव जित्दै आफ्नो राजनीतिक प्रभाव कायम राखेका थिए।

उनका कान्छा छोरा डा. राजिक आलम हाल राजपुर नगरपालिकाका नगरप्रमुख छन्। आलमका दुई छोरा — डा. फिरदोस र डा. राजिक — तथा एक छोरी छन्। आलमको निधनले रौतहटको कांग्रेस राजनीतिमा एउटा युगको अन्त्य भएको बताइन्छ। पार्टी निकट नेताहरूले उनलाई ‘कांग्रेसको संघर्षशील र प्रभावशाली नेता’का रूपमा सम्झिएका छन्।

उनको अन्त्येष्टि आज दिउँसो राजपुरमा पारिवारिक र राजनीतिक सुभेच्छुकहरूको उपस्थितिमा सम्पन्न गरिने तयारी गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट