जेन–जी आन्दोलनमा राजविराज कारागारबाट भागेका ‘बलात्कार–कैदी’ कामेश्वर मण्डल पक्राउ
राजविराज— जेन–जी आन्दोलनको त्रासपूर्ण अवस्थामा सप्तरीको राजविराज कारागारबाट फरार भएका बलात्कार मुद्दाका कैदीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार फरार भएको लामो समयपछि कैदी कामेश्वर मण्डललाई शुक्रबार पक्राउ गरिएको हो।
मण्डल सप्तरीकै बोदेबरसाईन नगरपालिका–१, महनौरी टोलका बासिन्दा हुन्। उनीमाथि बलात्कार मुद्दामा ७ वर्ष कैद सजाय तथा ३ लाख रुपैयाँ जरिवाना तोकिएको थियो। सजाय भुक्तान गरिरहेका मण्डल जेन–जी आन्दोलनको मौका छोपी फरार भएका थिए।
इलाका प्रहरी कार्यालय बोदेबरसाईनबाट खटिएको टोलीले फरार मण्डललाई पक्राउ गरेपछि उनलाई जिल्ला कारागार राजविराजमै बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। डीएसपी डम्बर बहादुर पुरीका अनुसार, आन्दोलनका कारण सुरक्षा चुनौती बढेको बेला कैदी फरार हुनु गम्भीर सुरक्षा जोखिम हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ।

